जानुपर्ने म हो, नाति गयो
फूलमाला लगाएर नातिलाई बिदा गरेकी ७१ वर्षीया वृद्धा बसमतियादेवी साहसँगै सपही गाउँ नै अहिले आनन्दको पर्खाइमा छ- जिउँदो होइन, पार्थिव शरीरको।
टाउको मुडुलो पारेका सोमन साह डाँको छोडेर रोइरहेका छन्। घरि घरभित्र पस्छन्, घरि आँगनमा आएर चिच्याउँछन्। केही बेर चिच्याएपछि बिस्तारै स्वर सानो हुँदै जान्छ। हिक्कहिक्क गर्दै सम्हालिन खोज्दै फेरि घरभित्र पस्छन्।
आँगनमा रोइरहेको स्वर कम हुँदै गर्दा दैलोको आवाज सुनिन्छ। शिवकली साह एकैछिनमा डाँको छोडेर रुन्छिन्, एकैछिनमा चूपचाप हुन्छिन्। एकाएक अचेत हुन्छिन्। आफन्तजन अनुहारमा पानी छम्किन थाल्छन्।
घरभित्र भुइँतलाको खाटमा सरस्वती पनि अचेत जस्तै छिन्। उनी होशमा आउँदा ‘दाइ, दाइ’ मात्रै बोल्ने गरेकी छन्।
छोराको मृत्यु खबर सुनेदेखि अचेत भइरहेकी आमा शिवकली साह।
तीनै जनालाई सम्झाइ-बुझाइ गरिराखेकी छन्, ७१ वर्षीया बसमतियादेवी साह। उनीसँगै गाउँले पनि सम्झाउने कोशिश गरिरहेका छन्। तर एक सातादेखि धनुषाको लक्ष्मीनिया गाउँपालिका-४, सपहीस्थित आनन्द साहको घरको दृश्य फेरिन सकेको छैन।
आनन्दका परिवारजनलाई सम्झाउन-बुझाउन आउने गाउँले पनि आँगनमा पुग्दा डाँको छोडेर रुन्छन्। सपही गाउँ पसेदेखि नै रोए-कराएको आवाज सुनिन्छ। जति आनन्दको घर नजिक पुग्यो, त्यति नै मान्छे भावविह्वल बन्छन्।
यो उनै आनन्द साहको घर हो, जो गत साता इजरायलमा हमासले गरेको आक्रमणबाट मारिएका थिए। उनीसँगै हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। उनीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत पढाइका लागि दक्षिणी इजरायलको किबुज अलमिम पुगेका थिए। त्यहाँ उनीहरू कृषि सम्बन्धी अध्ययन गरिरहेका थिए।
घरिघरि अचेत भइरहेकी आनन्दकी बहिनी र सम्झाउन खोज्दै हजुरआमा बसमतियादेवी साह।
‘लर्न एन्ड अर्न’ कार्यक्रममा २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। जसमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका ११९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थी थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका १७ विद्यार्थी किबुज अमिम पुगेका थिए।
प्यालेस्टिनी राजनीतिक तथा सैन्य संगठन हमासले असोज २० गते बिहान त्यही क्षेत्रमा आक्रमण गरेको थियो। आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिए, एक जना बेपत्ता छन् भने चार जना घाइते छन्।
घाइते सहित २५४ जनालाई नेपाल सरकारले विमान चार्टर्ड गरेर असोज २६ गते स्वदेश फिर्ता ल्याएको छ। आनन्दसँगै इजरायलमा भएका विद्यार्थी पनि घर फर्किएका छन्।
आनन्दको परिवार भने उनको लासको पर्खाइमा छ। “छोराको अनुहार पनि हेर्न पाइएन,” बुबा सोमन रुँदै भन्छन्, “हाम्रो जीवनको सहारा थियो, सबैलाई छोडेर गयो।”
एक महीनाअघि परिवारको मात्रै होइन, गाउँकै भरोसाको केन्द्र जस्तै थिए आनन्द। सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पढ्न जाने विद्यार्थीको सूचीमा छनोट हुँदा सपही गाउँ नै खुशी भएको थियो। “पढाइमा राम्रो थियो, गाउँमा सामाजिक काममा लागिरहन्थ्यो,” छिमेकी मिथिलेश साह भन्छन्, “गाउँका केटाकेटीमा सबैभन्दा सोझो र असल थियो।”
इजरायलमा मृत्यु भएका आनन्द साह।
गाउँकै स्कूलमा पनि उनलाई सबैले माया गर्थे। पढाइमा तीक्ष्ण भएकाले शिक्षकका पनि प्रिय थिए। उनको रुचि कृषिमा थियो।
तराई-मधेशको कृषि क्षेत्र चुरेसँग आश्रित छ। दिनप्रतिदिन चुरेमा भइरहेको दोहनले कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित छ। यस्तो अवस्थामा चुरे संरक्षण गरेर कृषिमा जोड दिनुपर्ने आनन्दको भनाइ हुन्थ्यो।
चुरे संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने उनको सोच थियो। गाउँमा छँदा पनि संरक्षणका काममा सक्रिय हुन्थे। इजरायल गएपछि पनि उनले फेसबूकमा लेखेका थिए, ‘म आफ्नो जीवनमा एक करोड वृक्षरोपण गर्नेछु।’
त्यससँगै गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने उनको योजना थियो। उनले लेखेका थिए, ‘एउटा अस्पताल खोल्नेछु, जहाँ विना भेदभावको उपचार हुन्छ। शिक्षा विना कहिले पनि समाज अगाडि बढ्न सक्दैन।’
जनकपुरधामस्थित एन्जल्स बोर्डिङ स्कूलबाट एसईई गरेका उनले त्यसपछि कृषि पढेका थिए। बीएस्सी एजीका लागि पूर्ण छात्रवृत्ति पाएका थिए।
छोराछोरी पढाउनकै लागि सोमनले १० वर्ष खाडी मुलुकमा बिताएका थिए। बुबाको विदेशको खटाइ देखेर पनि होला, आनन्द गाउँघरमै कृषिमै केही गर्नुपर्छ भन्थे। सोमनले ‘अब छोरा ठूलो भइसक्यो, मेरो मात्रै होइन, गाउँकै नाम उँचो पार्छ’ भन्ने गरेको छिमेकी मिथिलेश सुनाउँछन्।
छोरालाई कृषि अध्ययनका लागि इजरायल पठाउन सोमनले तीन लाख ऋण निकालेका थिए। “इजरायलमा १० महीना त हो, त्यसपछि कमाउने भइहाल्छ। आफ्ना लागि लिएको ऋण आफैं तिरिहाल्छ,” ऋण निकाल्दा सोमनले भनेको सम्झिन्छन् छिमेकी मिथिलेश।
तर उनले सोचे जस्तो भएन। इजरायल गएको २७ दिनमै ज्यान गयो। साह परिवारलाई बज्रपात परेको छ। बहिनी सरस्वतीलाई भने अझै पनि आनन्द आइहाल्छ कि जस्तै लाग्ने गरेको छ। त्यसैले त होशमा आउँदा ‘दाइ, दाइ’ भन्ने गरेकी छन्।
विश्वास गरून् पनि कसरी? दुई दिनअघि असोज १८ गते राति आनन्दले इजरायलबाट भिडिओ कल गरेका थिए। साँझको खाना खाइसकेपछि राति ८ बजे भिडिओ कलमा सबैले कुराकानी गरेका थिए। बुबा बाहिर थिए, आमा र बहिनीसँग लामै कुराकानी भएको थियो।
सरस्वतीले दाइसँग आफ्नो खुट्टा अलि सुन्निएको बताएकी थिइन्। उनी बहिनीहरूलाई यति माया गर्थे कि खुट्टा सुन्निएको देखाउँदा नै बहिनीलाई अस्पताल लग्न भनेका थिए। उनी आमाले अर्को दिन लग्छु भनेर वाचा गरेकी थिइन्।
त्यो अर्को दिन नआउँदै आक्रमण भएको खबर आइहाल्यो। छोराको अवस्था कस्तो होला भनी परिवार चिन्तित बनेको थियो। घरपरिवारले आनन्दलाई पटकपटक फोन पनि गर्यो तर फोन उठ्दैनथ्यो।
बेचैन बनिरहेको उनको परिवारले अर्को दिन त आनन्दको ज्यान गएको खबर सुनिहाल्यो। त्यसयता त आनन्दको परिवारसँगै सिङ्गो सपही गाउँ नै शोकमा डुबेको छ।
.jpg)
घरभित्र, दैलो होस् या आँगनमा जब वृद्धा बसमतियादेवी पुग्छिन्, रोईकराई केही कम हुन्छ। आमाको अनुहार देख्दा सोमन पनि केही शान्त हुन्छन्। सरस्वती एकोहोरो बज्यैलाई हेरिराख्छिन् मात्रै। वृद्धा घरि छोराबुहारीलाई सम्झाउँछिन्, घरि नातिनीहरूलाई।
आनन्दको ज्यान गएको खबर आएको दिन त उनी पनि रोएकी थिइन्, बेस्सरी। त्यसपछि भने उनले आँसु झार्न सकेकी छैनन्, वा यसो भनौं आँसु रोकेकी छन्। धेरै दुःख-पीडा भोगिसकेकाले होला, उनलाई छोराबुहारी र नातिनीहरूलाई सम्झाउने साहस आएको छ।
अरू वेला त उनी धेरै बोल्दिनन्। जब केही बेर घरआँगन शान्त हुन्छ, वृद्धा बसमतियादेवी सान्त्वना दिन आएका छरछिमेकी आफन्तसँग एउटै वाक्य बोल्छिन्- जानुपर्ने त म हो, नाति गयो।
उनी पनि नातिको पर्खाइमा छिन्। प्रहरी तथा अपरिचत मानिस आँगनमा पुग्दा नाति गएको बाटो हेर्छिन्। केही बोल्दिनन्। वृद्धा बसमतियादेवी सँगै सपही गाउँ नै आनन्दको पर्खाइमा छ, जिउँदो होइन, पार्थिव शरीरको।