रास्वपाका सांसदतिर संकेत गर्दै पूर्व अर्थमन्त्री खतिवडाले भने, “नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन, सक्नुहुन्छ भने रोक्नुहोस्”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन्।
कार्यक्रममा रास्वपाका सांसदतिर संकेत गर्दै उनले भने, “नयाँ स्टक एक्सचेन्ज चाहिंदैन, सक्नुहुन्छ भने रोक्नुहोस्।” ३०० भन्दा कम संख्याका सूचीकृत कम्पनीका लागि दोस्रो स्टक नचाहिने उनको तर्क थियो।
यस्तै, नेपाल स्टक एक्सचेन्जलाई नै पुन:संरचना गरेर सुधार गर्नुपर्ने उनको राय थियो।
खतिवडाले नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि शुरूमै घूस लेनदेन हुन लागेको पनि संकेत पनि गरे। उनले यसरी दिइने अनुमति ‘प्रिपेड लाइसेन्स’ भएको पनि बताए।
नेपाल धितोपत्र बोर्डले दोस्रो स्टक एक्सचेन्जको अनुमतिको प्रक्रिया अघि बढाए पनि विवाद भएपछि मन्त्रिपरिषद्ले रोकेको छ।
यस्तै, वित्तीय बजारका नियामक निकायका नेतृत्त्वमा पनि वित्तीय शिक्षाकै कमी भएको खतिवडाले टिप्पणी गरे। नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका अध्यक्षतिर लक्षित गर्दै खतिवडाले भने, “वित्तीय बजारको नेतृत्त्वमा वित्तीय रूपमा अशिक्षित नेतृत्त्व आए के हुन्छ भन्ने तपाईंहरूले देखिरहनुभएकै छ।”
नीति मन्थन कार्यक्रममा अन्य अर्थशास्त्रीले पनि नेपालको अर्थतन्त्रमा सुस्तता रहे पनि संकट भने नरहेको बताए। उनीहरूले संकट आएको भाष्य सिर्जना गरेर स्वार्थ समूहले फाइदा लिन नीतिगत दोहन गर्न खोजेको हुन सक्ने तर्क गरे।
पूर्व अर्थसचिव रामेश्वर खनालले कोभिड-१९ पछि लिइएको लचिलो नीतिले समस्या पारेको बताए। उनले विगतमा अधिक मौद्रिकीकरण गरिएको र जग्गाको मूल्यमा ‘बबल’ आएकाले अहिलेको समस्या निम्तिएको बताए।
अर्थशास्त्री डा. विश्वास गौचनले पनि विगत तीन दशकमा अधिक कर्जा प्रवाह गरिएको र जग्गाको मूल्य अत्यधिक बढेका कारण समस्या आएको र यो अवश्यम्भावी रहेको तर्क गरे।