ऐतिहासिक चित्तरञ्जन नेपालीको निधन
मदन पुरस्कार विजेता लेखक तथा ऐतिहासिक चित्तरञ्जन नेपालीको निधन भएको छ।
सोमबार दिउँसो करीब सवा १ बजे ९२ वर्षको उमेरमा उनको निधन भएको परिवारले जानकारी दिएको छ। केही दिनअघि खुट्टाको अपरेशन गरेपछि स्वास्थ्यलाभ गरिरहेका नेपालीलाई हिजो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ओम नर्सिङ होम लगिएको थियो। उनको त्यहीं देहावसान भएको बुहारी विना राजभण्डारीले जानकारी दिइन्।
जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक कृतिका लागि उनलाई विसं २०१३ सालमा मदन पुरस्कारबाट सम्मान गरिएको थियो।
१९८८ साउन १० गते शनिबारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा उनको जन्म भएको थियो। उनको वास्तविक नाम नारायणप्रसाद राजभण्डारी हो। तर राणाशासन विरोधी आन्दोलनका लागि उनले आफ्नो खास नाम त्यागेर चित्तरञ्जन नेपाली राखेका थिए।
परराष्ट्र मन्त्रालयबाट सरकारी सेवामा प्रवेश गरेका नेपाली चीनसँगको सीमा निर्धारण समितिमा पनि थिए। उनका जंगबहादुरको कथा, श्री ५ रणबहादुर शाह:व्यक्तित्व र शासनकाल, नेपाल-चीन सिमाना सन्धि, राणाशाहीको रोलव्यवस्था र धर्मपत्रहरू, पारिवारिक षड्यन्त्रका कथाहरू लगायत पुस्तक प्रकाशित छन्।
नेपालीका एक श्रीमती, एक छोरा र तीन छोरीहरू छन्।