‘पक्कै पनि ती सामान्य आँसु थिएनन्’
जब ‘ऐंठन’ले मदन पुरस्कार पाएको खबर पाएँ, नजिकै बसेकी पुष्पालाई सुनाएँ, नातिसँग खेलिरहनुभएकी आमालाई सुनाएँ। तुरुन्तै भिडिओ कल गरें, भाइ राजीवलाई सुनाएँ। भाइ खबर सुनेर रोयो। त्यसपछि आमा र पुष्पा रोए।
बुबालाई खबर सुनाउन सकिनँ, उहाँ त झनै पो भावुक हुनुहुन्छ। पक्कै पनि ती सामान्य आँसु थिएनन्। यस्तो लाग्यो- वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरिरहेका आँसु हुन्...।
२०७९ सालको मदन पुरस्कार अर्पण समारोहमा मन्तव्य राख्ने क्रममा लेखक विवेक ओझा विगत सम्झिँदै गए। उनी बोल्दै जाँदा पाटनढोकास्थित कमलमणि थिएटर सुनसान बन्यो। जगदम्बा-श्री र मदन पुरस्कार अर्पण समारोहमा उपस्थित आगन्तुक भावुक बने।
आगन्तुक दीर्घामै रहेका बुबा कृष्णप्रसाद र आमा सरस्वती ओझा लेखक मञ्चमा बोलिरहेका छोरालाई हेरेर टोलाइरहे। घरि आँखा त घरि अनुहार पुछिरहे।
बिस्तारै आफ्नो साहित्यिक लेखन यात्राको स्मरण गरिरहँदा पनि आमाबुबा भावशून्य बनिरहेका थिए। छोराले देशकै सम्मानित पुरस्कार पाउँदा भावुक बनेको कृष्णप्रसादले सुनाए। “शुरूमा यो खबर सुन्दा त सास फेर्न नै गाह्रो जस्तो भयो,” विवेकका बुबा कृष्णप्रसादले भने, “कहिल्यै सोच्दै नसोचेको पुरस्कार पाएको सुन्दा केही सोच्नै सकिनँ।” छोराले अझै सामाजिक मुद्दामा निरन्तर कलम चलाइरहोस् भन्ने उनको कामना छ।
लेखक ओझा पनि आफ्नो लेखन यात्राले सार्थकता पाएको ठान्छन्। पछिल्लो समय आफू कहींकतै टाढा हराए जस्तो लाग्ने गरेको बताउँदै उनले यो पुरस्कार पाएसँगै त्यो शङ्का मेटिएको सुनाए। “ऐंठन पुस्तकबाट विश्वशान्ति र सुन्दर जीवनको कामना गरेको छु,” उनले भने।
देशले भोगेको १० वर्षे सशस्त्र विद्रोहको अनुहार आफ्नो लेखनमा उतारेको उनले बताए। अहिलेसम्म द्वन्द्वपीडितले न्याय नपाएको उल्लेख गर्दै सबैको ध्यान पीडितलाई न्याय दिलाउनेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
कलाकार टेकवीर मुखियाले २०७९ सालको जगदम्बा-श्री सम्मान ग्रहण गरिरहँदा आगन्तुक दीर्घामा बसिरहेकी पत्नी शुक्र भने दङ्ग थिइन्। “पुरस्कारको घोषणा भएपछि सबैभन्दा धेरै खुशी म नै भएँ,” उनले भनिन्, “धेरै चर्चा नगरी आफ्नो काम गर्दै समाजलाई योगदान पुर्याउँदा कलाको सम्मान भएको छ।”
कलाकार मुखियाले पनि आफू जस्तो ‘स्वान्त सुखाय’ मा बाँचिरहेको र कला जगत्मा एकान्तमै रमिरहेको पात्र पुरस्कृत हुँदा खुशी लागेको बताए। ९२ वर्षीय मुखियाले शारीरिक अस्वस्थताका कारण मन्तव्य राख्न सकेनन्। उनको लिखित मन्तव्य पत्रकार देवेन्द्र भट्टराईले पढेका थिए।
६ दशक कुची समाएर पाँच हजारभन्दा धेरै पुस्तकको कभर डिजाइन गरेका मुखियाले आफ्नो सिकाइ पढेरभन्दा परेर भएको बताए। सँगै आफ्नो कलाचेत भने प्रकृतिले भरिदिएको उनको भनाइ थियो। आफू डाँडाको घाम जस्तै भइसकेको उल्लेख गर्दै अबको समय युवा पुस्ता र विवेक ओझा जस्ता कर्मशील साधकहरूको भएको उनको ठम्याइ थियो।
पुरस्कार अर्पण समारोहमा लेखक योगेश राजले विद्वत् प्रवचन राख्दै इतिहास चिन्तन परम्पराका आरोह र अवरोहको चर्चा गरेका थिए। केही दशकदेखि अर्थ-राजनीतिभित्र ऐतिहासिकहरू नयाँ नयाँ अवतारमा देखापरेको उनको भनाइ थियो।
केही ऐतिहासिक सत्ता संरक्षण र आन्तरिक कारकहरूसँग मिलेको बताउँदै उनले भने, “शक्तिशालीलाई लोकतान्त्रिक देखाउनु छ र शासनतन्त्रमा जमेर बस्नु छ। सत्तासित नरमगरम सम्बन्ध राख्ने बौद्धिकहरूमध्ये इतिहासकारका रूपमा आफूलाई चिनाउनेहरू भेटिन्छन्।”
शासनतन्त्रको स्वार्थ अनुकूल इतिहास उत्पादन गर्ने अर्को समूह पनि प्राज्ञ पदमा प्रतिष्ठत भएको भन्दै चिन्ता व्यक्त गरे। अहिले ऐतिहासिकहरूमा इतिहास चिन्तन नपाइनु नेपाली समाजको विडम्बना भएको उनको तर्क थियो। “नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुदृढ, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नुपर्ने हुन्छ,” उनले भने।
समारोहमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले परस्कृत स्रष्टाद्वय मुखिया र ओझालाई बधाई र शुभकामना दिए। अध्यक्ष दीक्षितले एआईको जमानामा पनि ऐतिहासिक चित्रहरू बनाउने मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्न पाउँदा हर्षित भएको बताए। त्यस्तै, अरूका पिडा, दुःख, सन्ताप, द्वन्द्वका घाउ, छटपटी, बिछोड र यातनालाई आख्यानको रूप दिएकोमा ओझाको प्रशंसा गरे।
हरेक वर्ष नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिन्छ। मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा-श्री २०४५ बाट प्रदान गरिंदै आएको छ।
२०१३ सालमा पहिलो पटक मदन पुरस्कार गद्यतर्फ हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, सामाजिक शास्त्रतर्फ जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली र विज्ञानतर्फ अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि डा. बलराम जोशीलाई प्रदान गरिएको थियो। त्यस्तै, २०४५ सालमा पहिलो पटक जगदम्बा-श्री सम्मान नारायणगोपाललाई प्रदान गरिएको थियो।