काठमाडौंबाट तीन दिनमा बाहिरिए एक लाख ५० हजार जना
दशैं मनाउन तीन दिनमा एक लाख ५० हजार जना उपत्यकाबाट बाहिरिएका छन्।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ जना उपत्यकाबाट बाहिरिएको बताए।
सोमबार मात्रै ५१ हजार ३८७ जना उपत्यकाबाट बाहिरिएका छन्। यसअघि असोज २७ गते ४७ हजार ६४३ र असोज २८ गते ५१ हजार २७९ जना बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ।
ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वमा यातायात सहजताका लागि काठमाडौं उपत्यकाभित्र एक हजार ८०० जना ट्राफिक प्रहरी परिचालन गरिएको प्रवक्ता भट्टले बताए।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा पनि घर जाने यात्रुको भीड छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।
“लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, अहिले हामीले नयाँ बसपार्कबाट बस छुट्ने समय समेत अन्य समयभन्दा अगाडि सारेका छौं,” मल्लले भने।
दशैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले बताए। सरकारले दशैंमा यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रूट परमिट समेत खुला गरिसकेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रु बाहिरिने अनुमान रहेको बताए। यात्रुलाई सहज रूपमा गन्तव्यस्थल पुर्याउन महासंघले केही बस थप गरेको उनको भनाइ छ।