छोरीलाई न्याय माग्दा प्रहरी हिरासतमा
आरती साहको न्यायको माग गर्दै १२४ दिनदेखि माइतीघर मण्डलमा धर्ना बसेका निर्मलादेवीको परिवारमाथि प्रहरीले उल्टै धरपकड गरेर हिरासतमा राख्यो।
दिवङ्गत छोरी आरती साहका लागि न्याय माग्दै आमा निर्मलादेवी साह र परिवारका अरू सदस्य माइतीघर मण्डलको सडकछेउ बसेको १२१औं दिन थियो, त्यही दिन प्रहरीको एक समूहले उनीहरूको आन्दोलनको ब्यानर बलजफ्ती हटायो।
घटना असोज २७ गते बिहान करीब ८ बजेतिरको हो। एकाएक प्रहरीले आन्दोलनका ब्यानर हटाउन दबाब दिंदा निर्मला र उनको परिवारले केही भेउ पाइरहेकै थिएन।
त्यसको तीन दिनअघि पनि यस्तै अप्रिय घटना भएको थियो निर्मलाको परिवारमाथि। असोज २४ गते बुधबार राति १० बजे निर्मलाको परिवारको आश्रय बनेको त्रिपाल केही युवाले काटिदिएका थिए।
निर्मलाका श्रीमान् विनोदप्रसादका अनुसार उनले ती युवाको प्रतिकार गर्न खोज्दा उनीमाथि छुरा प्रहार गर्ने प्रयास भएको थियो। यसपछि उनले होहल्ला गरेर सुरक्षा माग्न खोजे। तर, त्यस दिन सधैं त्यहाँ ड्यूटीमा खटिने दुई जना प्रहरी पनि थिएनन्।
हल्लाखल्ला सुनेर अरू मानिस जम्मा भए, धर्नास्थल भत्काउन आएका युवा कुलेलम ठोके।
तीमध्ये एक जनाको मोबाइल भने धर्नास्थलमा खसेको रहेछ। विनोदले त्यो मोबाइल सहित प्रहरीमा जाहेरी दिए। ज्यानको सुरक्षा माग गरे। तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेन। विनोदले सरकारी वकील मार्फत जाहेरी दिए र बल्ल उनको जाहेरी दर्ता भयो।
सुरक्षा दिनुको साटो त्यसको तीन दिनपछि प्रहरीले आन्दोलन बिथोल्न खोजेपछि निर्मलाको परिवार पनि प्रतिकारमा उत्रेको थियो। तर ‘माथिको आदेश’ भन्दै प्रहरीले उनीहरूको धर्नास्थल तोडिछाड्यो।
यसपछि निर्मलालाई असह्य भयो र उनी प्रहरीमाथि जाइलागिन्। प्रहरीले निर्मला र विनोदलाई भ्यानमा हाल्यो। आमाबुवामाथि ज्यादती भएको देखेपछि सँगै रहेका छोरा पनि चूप बसेनन्। प्रतिकार गरे। उनलाई पनि प्रहरीले भ्यानमा हाल्यो।
उनीहरूलाई अनामनगर प्रहरी वृत्तको हिरासतमा राखियो। उनीहरूले हिरासतमै अनशन पनि शुरू गरेका थिए। निर्मलाका भाइ सन्तोषकुमार साहका अनुसार विनोद भने ज्वरोले सिकिस्त छन्। उनी बिरामी परेपछि आइतबार राति नै निर्मलाको परिवारलाई प्रहरीले वीर अस्पताल लगेर छोडिदिएको छ।
प्रहरीसँग किन खटपट?
निर्मलादेवीको परिवारको मागपत्रमा आफूहरूमाथि कुटपिट गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने उल्लेख छ। यी दुई प्रहरीले पीडकको पक्ष लिएर शुरूदेखि नै घटना बङ्ग्याउन खोजेको उनीहरूको आरोप छ।
त्यसै कारण धर्नास्थलमा पनि खड्का र गौतमको तस्वीर राखिएको थियो। तर, लामो समयदेखि आफ्नो तस्वीर माइतीघर मण्डलमा टाँगिएको देखेपछि एसपी खड्का र डीएसपी गौतमले मानहानि भएको भन्दै गृह मन्त्रालयमा उजुरी दिएका थिए।
उजुरीपछि मन्त्रालयले जिल्ला प्रशासन कार्यलय, काठमाडौंलाई आवश्यक कारबाहीका लागि निवेदन सहित पत्र पठाएको थियो। प्रशासनले त्यो निवेदन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठायो।
परिसरको टोलीले ती तस्वीर हटाउन आग्रह गर्यो। तर, पीडित पक्षले मानेन। सोही विषयमा विवाद हुँदा निर्मलादेवीको परिवार प्रहरीमाथि जाइलागेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खड्का बताउँछन्।
घटनाको नालीबेली
दाइजो नदिएको निहुँमा ज्वाइँको परिवारले आफ्नी २५ वर्षीया छोरी आरतीको हत्या गरेको निर्मलादेवीको आरोप छ। धनुषाको नगराइन-८, खिरखिरियाका साह परिवार सोही घटनामा निष्पक्ष छानबिन नभएको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन्।
स्नातक तहमा पढ्दै गर्दा २०७८ असार ३० गते जनकपुरधाम-९, थापाचोक निवासी मोतीबाबुसँग आरतीको बिहे भएको थियो। बिहेमा आरतीको परिवारले ऋण गरेर केटा पक्षको खर्च पनि तिरिदिएको थियो। खर्च २५ लाख थियो।
तर, बिहेको वर्ष दिनपछि मोतीबाबुले दाइजोको निहुँमा आरतीलाई मानसिक तनाव दिन थाले। गत वैशाखमा मोटरसाइकल र दराज माग्दै ससुराले समेत कुटपिट गरेपछि भने आरती माइतीको शरणमा फर्किइन्।
छोरीको दु:ख सहन नसकेपछि निर्मलादेवीको परिवारले केटा पक्षले मागे जति दाइजो दिने तयारी पनि गरेको थियो। यसबीच आरतीका श्रीमान् आएर ‘अब दुःख नदिने’ भन्दै १५ दिनपछि आरतीलाई माइतीबाट आफ्नो घर लिएर गए।
तर, १० दिनपछि गत जेठ ७ गते साँझ निर्मलादेवीको परिवारमा बज्रपात पर्यो। आरती बेहोश भएपछि उपचारका लागि जनकपुरको काव्या अस्पताल लगिएको खबर आयो।
हतार हतार आरतीका बाआमा र बहिनी मनीषा अत्तालिंदै अस्पताल पुगे। त्यहाँ पुग्दा आरतीको शरीरमा सास थिएन। शरीरभरि नीलडाम थियो भने टाउकामा पनि खत देखिएको थियो। मृत्यु स्वाभाविक थिएन।
त्यो देखेपछि आरती र मोतीबाबुको परिवारबीच अस्पतालमै विवाद भयो। प्रहरी आयो। मोतीबाबुको परिवारले आरतीले आत्महत्या गरेको बयान दियो। आरतीको परिवारले दाइजोको निहुँमा हत्या भएको दाबी गर्यो र सोही दिन आरतीका श्रीमान्, सासू, ससुरा र देवरलाई किटान गरी ज्यान मार्ने उद्योगमा जाहेरी दिन खोज्यो।
तर, प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी लिने भन्न थाल्यो। भोलिपल्ट पोस्टमार्टम रिपोर्ट त आयो, तर प्रहरीले ज्यान मार्ने उद्योगमा होइन, आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सल्लाह दियो।
यसबीच मोतीबाबुले अस्पतालबाट आरतीको शव घाटमा पुर्याइसकेका थिए। शव लगेको थाहा पाएपछि माइती पक्ष पनि घाटमा पुगेर शव फिर्ता ल्यायो। प्रहरीले जाहेरी नलिएसम्म दाहसंस्कार नगर्ने अडान लियो।
यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि शव राखेर आन्दोलन गर्नेदेखि आरतीका सासू रेनुदेवी, ससुरा मदनमोहन, श्रीमान् मोतीबाबु र देवर रविको नाममा हुलाक मार्फत किटानी जाहेरी दिनेसम्मका काम भए। त्यसपछि बल्ल मोतीबाबु र मदनमोहनका नाममा मात्र प्रहरीले जाहेरी लियो। बल्ल आरतीको अन्तिम संस्कार भयो।
शोकमा रहेको निर्मलादेवीको परिवार प्रहरीले निष्पक्ष छानबिन गर्ला भनेर केही समय चूप रह्यो। जेठ ३२ गतेका दिन प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय, धनुषामा पठाउनुअघि दुवै परिवारलाई बोलायो।
त्यहाँ पुग्दा उनीहरूले थाहा पाए- मुद्दा त आत्महत्या दुरुत्साहनमै चलाउने तयारी भएको रहेछ। प्रहरीले नै घटना बङ्ग्याउन लागेको शङ्का गरेर उनीहरूले प्रतिवेदन मान्य नभएको भन्दै हस्ताक्षर गरेनन्।
त्यही निहुँमा प्रहरीसँग विवाद भएपछि आरतीकी बहिनी मनीषाले मोबाइल झिकेर भिडिओ खिच्न थालिन्। प्रहरीले मोबाइल खोसेर उनीमाथि दुर्व्यवहार गर्यो।
त्यसपछि प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले अर्को कोठामा लगी घाँटीमा समातेर, पेटमा लात्तीले हानेको मनीषा बताउँछिन्।त्यस दिन प्रहरीले पूरै परिवारलाई नै निर्घात कुटपिट गरेको र खुट्टा ढोग्न लगाएर कतै उजुरी नगर्ने शर्तमा छोडेको उनीहरू बताउँछन्।
प्रहरीको कुटपिटबाट घाइते भएपछि उनीहरू सीधै अस्पताल पुगेका थिए। भोलिपल्ट बिहान ११ बजे अस्पतालबाट ‘डिस्चार्ज’ हुनासाथ उनीहरू असार १ गते न्यायको खोजीमा काठमाडौं हानिए। काठमाडौं आएदेखि माइतीघरको सडकमा धर्ना बसेर न्यायको याचना गरिरहेका छन्।
शङ्कास्पद पोस्टमार्टम रिपोर्ट
आरतीको माइती पक्षले हत्या नै भएको आशङ्का गर्नुमा शरीरको चोट मात्रै होइन, पोस्टमार्टम रिपोर्ट पनि एउटा आधार हो।पोस्टमार्टम रिपोर्टमा आरती झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख छ। रिपोर्टमा गालामा रहेको चोट भित्री भागसम्म भएको पनि लेखिएको छ।
तर, शरीरका अन्य भागको चोटबारे केही उल्लेख छैन। निर्मलादेवीको परिवारले पोस्टमार्टम रिपोर्ट नै बङ्ग्याइएको दाबी गर्दै आएको छ। साथै पोस्टमार्टम रिपोर्ट दिने डाक्टरहरू विरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी पनि दिएको थियो।
गत भदौ ३ गते उजुरीमाथि सुनुवाइ गर्दै काउन्सिलले पोस्टमार्टम रिपोर्टमा हुनुपर्ने विस्तृत विवरण नभएको र त्रुटि भएको स्वीकार गर्दै जनकपुर प्रादेशिक अस्पतालका चिकित्सकहरू अवधेशकान्त झा, दिग्विजय ठाकुर र जितेन्द्रकुमार साहलाई अन्तिम चेतावनी समेत दिएको छ।
अर्कातर्फ, आरतीको श्रीमान् पक्षले प्रहरीलाई दिएको बयान र पोस्टमार्टम रिपोर्टको तथ्य पनि मेल खाँदैन। प्रहरी बयानमा उनीहरूले जेठ ७ गते साँझ ५:१५ बजे झुन्डिएको भेटेको भनेका छन्। तर, पोस्टमार्टम रिपोर्टअनुसार, २४ देखि ३६ घण्टाभित्र अर्थात् बयानमा भनिएको भन्दा लगभग १२ घण्टाअघि नै आरतीको मृत्यु भएको देखिन्छ।
यसबीच असार ५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उक्त आदेश विरुद्ध उच्च अदालत जनकपुरले गत असोज १८ गते उनीहरूलाई तारेखमा छाडिदिएको छ। यो खबर सुनेपछि निर्मलादेवीको बेचैनी झनै बढेको छ।
‘छोरीले न्याय नपाउन्जेल पछि हट्दिनँ’
निर्मलादेवीको परिवार यसरी धर्नामा बसेदेखि माइतीघर मण्डलमै दर्जनभन्दा बढी आन्दोलन भइसके। जुन आन्दोलनसँग झन्डा, नारा थियो, तिनको माग सुनियो। सरकारले वार्तामा बोलाएर सम्बोधन गरिदियो।
तर, निर्मलादेवीसँग छोरीको तस्वीर र माग बाहेक केही छैन। माइतीघरको सडकमा १२४ दिनदेखि छोरीका निम्ति न्याय मागिरहेकी यी उदास र शोकाकुल आमाको आवाज राज्यको निकायका लागि कर्कश ध्वनि भएको छ।
निर्मलादेवी माइतीघर आउँदा भर्खरै बर्खा शुरू हुँदै थियो। अहिले शहरलाई शरद लागेको छ। निर्मलादेवीलाई यसैगरी जाडो खप्नुपर्ने हो कि भन्ने चिन्ता छ।
जतिसुकै परिस्थिति खप्न परे पनि छोरीले न्याय नपाएसम्म राजधानीको यही सडकमा आँसु बगाउन तयार छिन् उनी। आरतीका बुबा विनोद भन्छन्, “जे जे परे पनि सहन्छु। तर, मेरी छोरीले न्याय नपाएसम्म म पछि हट्दिनँ।”