त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघले त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ।
आउँदो कात्तिक १ गतेदेखि काठमाडौंमा त्रिदेशीय टी-२० शृङ्खला आयोजना हुँदै छ। प्रतियोगितामा नेपाल, यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि रोहित पौडेलको नेतृत्वमा १९ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जीसी, ललित राजवंशी, अभिषेक बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल (मौसम) छन्।
पहिलो खेलमा कात्तिक १ गते नेपाल र यूएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।
कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र यूएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र यूएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।
लगत्तै कात्तिक १३ बाट टी-२० विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।