सुदूरपश्चिममा भूकम्पको धक्का महसूस
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसूस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९:२६ मा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए।
भूकम्पको धक्का महसूस गरिए पनि क्षतिबारे भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।
पछिल्ला केही दिनयता पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ। गत असोज १६ गते दिउँसो २:४० मा तलकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केल तथा ३:६ मिनेटमा चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी बझाङमा एक जनाको मृत्यु भएको थियो भने कैयौं घर क्षतिग्रस्त भएका थिए।