पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ११ र डिजेल-मट्टीतेलमा पाँच-पाँच रुपैयाँ घटाएको छ।
घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। दशैं, तिहार, छठ लगायत चाडपर्वलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १६७ रुपैयाँमा पाइनेछ। काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १६८ रुपैयाँ कायम गरिएको छ।