दशैं आयो कताकता (कविता)
लुगा पसलमा आयो गज छोटो भईकन,
टुँडिखेलबीचै आयो सस्तो नाम लिईकन।
धुनिबेसेहरूलाई लाग्यो अम्बा टिपाउन,
वीरगन्जेहरूलाई खसी राँगा धपाउन।
जीरा-मरिचमा लाग्यो धूलोमूलो बढाउन,
काँठका युवती लागे काँक्रा फर्सी बिकाउन।
टाढाका जागीरे लागे घरबिदा मिलाउन,
छेउका जागीरे लागे शिर-पाउ सजाउन।
सस्तो खोज्नेहरूलाई च्याङ्ग्रा-भेडा कुराउन,
लाग्यो कोजाग्रतेलाई पैसा फाल्न सुर्याउन।
एउटा पाठले पाँच दक्षिणा पाउने गरी,
पाठ बेच्नेहरूलाई आयो बर्खे झरीसरि।
कतै च्याँ च्याँ, कतै म्याँ म्याँ,
कतै च्वाँ च्वाँ कूकू कतै।
आइँ भ्याँ भ्याँ गरी आयो,
दशैं ठूलो जताततै।
(दत्तात्रेय कवि दाताराम शर्माको छद्म नाम हो। यो कविता ‘छ्याकन’ संग्रहबाट लिएको हो। भैरव अर्याल र वासुदेव शर्मा लुइँटेलद्वारा सम्पादित संग्रह २०२५ सालमा विद्या-वासले प्रकाशन गरेको थियो। )
हिमाल दशैं साहित्यका थप सामग्री: