कोशीमा मन्त्रिपरिषद् गठन, एमाले पनि सरकारमा
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख खापुङले रामबहादुर राना मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन्। दुवै जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले बताए।
नवनियुक्त मन्त्री राना मगर नेकपा (एमाले)तर्फबाट र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन्। एमाले सांसदकै समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।