हमास आक्रमणपछि इजरायलले ६ हजार बम हान्दा उत्तरी गाजा क्षेत्र तहसनहस
हमासले आक्रमण शुरू गरेपछिको एक सातामा इजरायलले ६ हजार बम प्रहार गर्दा उत्तरी गाजा क्षेत्र तहसनहस भएको छ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले असोज २० गते बिहान इजरायलमा आक्रमण गरेको थियो। प्यालेस्टाइनको गाजा क्षेत्रसँग जोडिएको इजरायली क्षेत्रमा गरिएको आक्रमणबाट एक हजार ३०० जनाको मृत्यु भएको थियो।
हमासको आक्रमणबाट ज्यान गुमाउनेमा इजरायलीसँगै विभिन्न देशका नागरिक थिए। अध्ययनका लागि इजरायल गएका १० जना नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो। हमासको आक्रमणमा परी दुई जना नेपाली घाइते छन् भने अझै एक जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्।
अध्ययनका लागि इजरायलको दक्षिणी क्षेत्र पुगेका २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ। उनीहरूलाई नेपाल सरकारले विमान चार्टर्ड गरेर असोज २६ गते स्वदेश ल्याएको थियो।
हमासको आक्रमणपछि इजरायलले पनि हवाई तथा स्थलमार्गबाट आक्रमण गरिरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले ‘देश युद्धको स्थितिमा रहेको’ बताएका थिए। उनले प्यालेटाइनका नागरिकलाई गाजा क्षेत्र छोड्न चेतावनी दिएका थिए। अहिले पनि इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा क्षेत्र छोड्न चेतावनी दिइरहेको छ।
यससँगै इजरायली सुरक्षाकर्मीले पछिल्लो एक सातामा गाजा क्षेत्रमा हवाई र स्थलमार्गबाट आक्रमण गरेका छन्। अल जजीराका अनुसार हमासको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा ६ हजार बम प्रहार गरेको छ। यो अमेरिकाले तालिबान विरुद्ध अफगानिस्तानमा एक वर्षमा प्रहार गरेको बमकै हाराहारी हो। गाजा क्षेत्रमा इजरायलले प्रहार गरेको बमको तौल चार हजार टन पुग्छ।
इजरायलको अन्धाधुन्ध आक्रमणबाट अहिलेसम्म दुई हजार ३२९ जना मारिएका छन्। त्यस्तै, नौ हजार ७१४ जना घाइते भएको अल जजीराले उल्लेख गरेको छ। यसअघि हमासको आक्रमणबाट एक हजार ३०० जनाको मृत्यु भएको थियो भने तीन हजार ४०० जना घाइते भएका थिए।
इजरायलले अन्धाधुन्ध आक्रमण गर्न थालेपछि उत्तरी गाजा क्षेत्रका बासिन्दाले बस्ती छोड्न थालेका छन्। उत्तरी गाजा क्षेत्रमा मात्रै ११ लाख बासिन्दा छन्। यो क्षेत्रका करीब चार लाख २३ हजार बासिन्दा विस्थापित छन्। त्यस्तै, दुई लाख ७० हजार ३७४ जना विद्यालयमा बसिरहेका छन्। यो क्षेत्रका विद्यालय बन्द गरिएका छन्।
बम आक्रमणबाट उत्तरी गाजा क्षेत्रमा ६४ हजार २८३ घरमा क्षति पुगेको छ। जसमध्ये पाँच हजार ५४० घर पूर्ण रूपमा ध्वस्त छन्। यस्तै, ९० वटा शैक्षिक संस्था, १८ वटा धार्मिक स्थल, १९ वटा स्वास्थ्य संस्था, २० एम्बुलेन्स र ११ वटा खानेपानी आयोजनामा पनि क्षति पुगेको छ।
३६५ वर्ग किलोमिटर क्षेत्र रहेको पूरै गाजा क्षेत्रमा २३ लाख मानिस बस्छन्। यो क्षेत्र पाँच प्रशासनिक इलाकामा विभाजन गरिएको छ। उत्तरी गाजा, गाजा शहर, देइर इल-बलाह, खान युनिस र राफल।
उत्तरी गाजा क्षेत्र इजरायलसँग जोडिएको छ। यो क्षेत्रबाट इजरायलसँग मात्रै आवतजावत हुन्छ। इजरायलसँग १० किलोमिटर सीमा जोडिएको यो क्षेत्रमा ११ लाख मानिस बसोबास गर्छन्। जसमध्ये चार लाख २३ हजार विस्थापित भइसकेका छन्।
मुख्य क्षेत्र गाजा शहरमा सात लाख ५० हजार मानिस बस्छन् भने देइर इल-बलाहमा तीन लाख २० हजार मानिस बस्छन्। यो सबैभन्दा ठूलो कृषि उत्पादन हुने क्षेत्र पनि हो। त्यसपछिको खान युनिसमा चार लाख ३० हजार मानिस बस्छन् भने यहाँ रहेको शरणार्थी शिविरमा मात्रै ९० हजार मानिस बस्छन्।
त्यस्तै, दक्षिणी जिल्ला राफाहमा दुई लाख ७५ हजार मानिस बस्छन्। यस क्षेत्रबाट इजिप्ट आवतजावत हुन्छ। इजरायली आक्रमणपछि गाजा क्षेत्रका बासिन्दा बस्ती छोडेर इजिप्टतिर गइरहेका छन्।
इजरायलले अहिले उत्तरी गाजामा आक्रमण गरिरहेको छ। त्यस क्षेत्रका बासिन्दालाई घर छोड्न भनेका छ। गाजा क्षेत्रमा आक्रमण गर्न तीन लाख सुरक्षाकर्मी तैथान गरिएको इजरायली सेनाका प्रवक्ताले जनाएका छन्। इजरायलले त्यस क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट आक्रमण गर्ने चेतावनी दिएको छ।
यो पनि पढ्नुहोस्: गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल?