व्यवसायीलाई अर्थमन्त्रीको जवाफ- नेपालको आफ्नै अर्थनीति छ, दातृ निकायसँग मिल्नै पर्दैन
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग मिल्नै पर्छ भन्ने नभएको बताएका छन्।
विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नै पर्छ भन्ने नरहेको बताएका हुन्। “हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ। हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ,” मन्त्री महतले भने।
दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ। चालू पूँजी कर्जा मार्गदर्शन लगायत व्यवस्थामा मुद्रा कोष हावी भएको निजी क्षेत्रको बुझाइ छ।
अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र शर्त कार्यान्वयन गर्नै पर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारेका छन्। सहुलियतपूर्ण कर्जाका लागि विश्व ब्यांक र मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ।
त्यस्तै, गरीबी निवारणका क्षेत्रमा लगानी गर्ने र नयाँ खालका वित्तीय लगानीका उपकरण पहिचान गरेर लगानी गर्नेबारे छलफल भएको उनले बताए। माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व ब्यांकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ।
अर्थमन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसूस भएमा सरकारले त्यसको निर्णय लिन सक्ने पनि बताए। केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक अवस्था सुधारका लागि सरकारले उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका थिए।
यस्तो संयन्त्रबारे सरकारले कसरी तयारी गरिरहेको छ भन्ने प्रश्नमा अर्थमन्त्री महतले अवस्था र परिवेश हेरेर निर्णय दिने बताए। त्यस्तै, अर्थतन्त्रमा अहिले देखिएको सङ्कट लामो समयदेखिका समस्या थपिंदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ।
“अहिले देखिएका समस्या तत्काल सिर्जित होइनन् र यी समस्या एकै झट्कामा समाधान पनि हुँदैन। क्रमशः सुधारका प्रयासका नतीजा देखिंदै गएका छन्। आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ,” अर्थमन्त्री महतले भने।
यो पनि पढ्नुहोस्: अन्तर्राष्ट्रिय मुद्रा कोषको खिलाफमा उद्योगी व्यवसायी