बहराइनलाई हराउँदै नेपाल शीर्षस्थानमा
एसीसी पुरुष यू-१९ प्रिमियर कपमा नेपाल सात विकेटले विजयी भएको छ।
मलेशियामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपालले बहराइनलाई ११.४ ओभरमै पराजित गरेको हो। बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले तीन विकेटको क्षतिमा पूरा गरेको छ।
नेपालका लागि अर्जुन कुमाल र देव खनालले ३२-३२ तथा दीपक बोहराले चार र दीपकप्रसाद डुम्रेले एक रन बनाए। बहराइनका लागि अनस अवैद सेइदले तीन विकेट लिए।
यसअघि ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा ७७ रन बनाएको थियो। मुहम्मद हकिमले ३४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि दीपेश कँडलले ६ विकेट लिए। उनले ९.५ ओभरमा आठ ओभर मेडियन राख्दै चार रन मात्रै दिए।
त्यस्तै, दुर्गा गुप्ताले चार विकेट लिए। उनले आठ ओभरमा एक ओभर मेडियन राख्दै २२ रन दिए।
यो जितसँगै नेपाल चार अङ्क जोड्दै समूहको शीर्षस्थानमा उक्लिएको छ। नेपालले यसअघि इरानलाई पराजित गरेको थियो। अब समूह चरणको अन्तिम खेल कात्तिक २ गते साउदी अरबसँग खेल्नछ।