विश्व ब्यांकले माथिल्लो अरुणमा लगानी गर्ने, एक खर्ब ३० अर्ब ऋण दिन सकारात्मक
अरुण तेस्रो आयोजनाबाट हात झिकेको झन्डै तीन दशकपछि विश्व ब्यांकले नेपालको प्रस्तावित ठूलो जलविद्युत् आयोजना माथिल्लो अरुणमा लगानी गर्ने भएको छ।
यो आयोजना निर्माणका लागि एक खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिन विश्व ब्यांक सकारात्मक भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन मोरक्को पुगेका अर्थमन्त्री प्रकाशशरण महतसँगको भेटवार्तामा विश्व ब्यांकका प्रतिनिधिहरूले यस्तो सन्देश दिएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
रणनीतिक महत्त्व रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व ब्यांकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी साता अमेरिकाको वाशिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षबारे छलफल गर्ने तयारी छ।
२०५० को दशकको शुरूआतमा विश्व ब्यांकले नेपालको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्न सहमति जनाएको थियो। तीव्र विवादमा परेको यो आयोजनाबाट पछि ब्यांकले हात झिकेको थियो। यो आयोजनामा अहिले भारतीय सरकारी कम्पनी सतलज पावरले काम गरिरहेको छ।
त्यसैगरी, सहुलियतपूर्ण ॠण उपलब्ध गराउने विश्व ब्यांक अन्तर्गतको संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडीए)को २१औं बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री महतले राखेको प्रस्तावमा समेत विश्व ब्यांक सकारात्मक भएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विश्व ब्यांक दक्षिणएशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले भेटवार्ता गरेका थिए।
विश्व ब्यांकका अधिकारीहरूको छलफलमा चालू आर्थिक वर्ष २०८०/८१ मा ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता परिचालन गर्ने सहमति पनि भएको जनाइएको छ। बैठकमा अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल सहितको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको जनाइएको छ।