मनाङ एअरको उडानमा रोक, छानबिन समिति गठन
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडानमा रोक लगाएको छ भने दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘९एन-एएनजे’ हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी हेलिकोप्टर चालक प्रकाशकुमार सेढाईं घाइते भएका थिए। दुर्घटना लगत्तै हेलिकोप्टरमा आगलागी भएको थियो।
यसको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरिएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन।
त्यस्तै, तत्कालका लागि मनाङ एअरको ‘एअर अपरेटिङ सर्टिफिकेट (एओसी)’ निलम्बन गरेको छ। अर्को निर्णय नभएसम्मका लागि एओसी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।