संस्मरण: टाँगावाल साथी महमद अली
हरेक वर्ष बडादशैंमा हिमालमिडियाले साहित्य विशेष सामग्री पस्किदै आएको छ। हिमाल खबरपत्रिकाको २५ वर्षे यात्रामा पाक्षिक र साप्ताहिक रूपमा प्रकाशन हुँदा ‘दशैं साहित्य डबल अंक’ प्रकाशन हुन्थ्यो। कोभिड-१९ कालमा स्थगन भएर फेरि मासिक स्वरूपमा छापिंदा पनि दशैं साहित्य विशेषले निरन्तरता पाइरह्यो।
हाल भने खबरपत्रिका विश्रामको अवस्थामा छ र हिमालखबर डटकमको डिजिटल यात्रा जारी छ। साहित्य विशेषको परम्परालाई निरन्तरता दिंदै यसपाली श्रव्य-दृश्य प्रस्तुतिसहित डिजिटल स्वरूपमा प्रस्तुत छ, हिमाल दशैं साहित्य।
त्यस वेला वीरगन्जमा त्रिजुद्ध हाइस्कूल बनिसकेको थियो। तर एक शिक्षककै स्कूल पनि धेरै थिए उतिखेर। त्यस्तो स्कूलमा एउटै शिक्षक हुन्थे, जसले सबै विषय पढाउँथे। एलकेजीदेखि पाँच कक्षासम्म होला, ती प्राइमरी स्कूल थिए। स्थानीय प्रकारका स्कूल प्रायः मोहल्लामा सीमित हुन्थे तापनि कुनै कुनै स्कूल नाम चलेका हुन्थे। यिनमा श्यामलाल मास्टरको स्कूल प्रसिद्ध थियो।
यस्ता स्कूलमा मोहल्ला बाहिरका विद्यार्थी पनि आउँथे। एउटा स्कूलमा फेल भएर क्लास चढेर पढ्नेहरू पनि आउँथे। मैले धेरै स्कूल चहारिनँ। गुरु, दशरथ मास्टर अनि सोझै त्रिजुद्ध।
कुर्मी मास्टरको स्कूल पनि राम्रो मानिन्थ्यो। तर ठूलो नाम श्यामलालकै थियो। तिनको स्कूलमा म पढिनँ। तिनलाई देखेको भने थिएँ। वृद्ध, फुलेको मुठे जुँगा र रोबिलो व्यक्तित्व।
वीरगन्जमा अब त्यस्तो स्कूलको चलन भए जस्तो लाग्दैन। त्यस्तो स्कूल प्राचीन गुरुकुल परम्पराको अवशेष थियो। अहिले त्यसको पनि अवशेष प्राइभेट ट्यूशनका रूपमा देख्न सकिन्छ। अलिक फरक छ। हामीले पढ्ने ट्यूशनमा एक शिक्षकले सारा विषय हेर्थे।
स्पेशल शिक्षकको थालनी पनि भइसकेको थियो। शास्त्रीजी नेपाली र पण्डितजी संस्कृत पढाउँथे, अच्युतजी अंग्रेजी पढाउँथे, मिश्राजी म्याथ। यस्तै यस्तै। तर यी पनि अरू विषय वर्जित गर्दैनथे, अर्थात् कम पढाए पनि सबै विषयको पाठ दिने-लिने गर्थे।
मैले यीमध्ये आधा दर्जन मास्टरसँग ट्यूशन पढेको छु। हामी ट्यूशनियाको पढ्नेभन्दा बढी सरोकार हुन्थ्यो- कसले पास गराइदिन्छ?
गुरुको स्कूलदेखि थालिएको मेरो अध्ययन एकैचोटि भारत पूनाको डेक्कन कलेजमा गएर टुङ्गिएको थियो, विद्यावारिधि गरेपछि।
स्कूलका साथीहरू अब उस्तो भेटिँदैनन्। यदाकदा भेटिन्छन् पनि। एक पटक चम्पालाई उसकै घरमा, उसको पति सहित भेटेको थिएँ, उनीहरू पनि वीरगन्जको कुम्हालटोलमै बसेकाले। आनन्दे, रामकृष्ण, जनकलाल, मानिकलालसँग पनि भेट भइरहन्थ्यो, एकदम छिमेकी हुनाले। मणि, मनोरमासँग भेट भएन।
अहिले भेट नभए पनि त्यस स्कूलको एक स्मरणीय साथी थियो, महमद अली। कम बोल्ने स्वभावको, भलादमी विद्यार्थी थियो। महमद पछि एक्का चलाउँथ्यो। ऊ हामीलाई वीरगन्जबाट रक्सौल पुर्याइदिन्थ्यो। पैसा लिन कहिल्यै मान्दैनथ्यो।
टाँगा चलाउन्जेल ऊसँग भेट भयो। त्यसपछि भेट हुन छाड्यो। झैझगडा गर्ने वा कुनै अन्य चञ्चलता उसमा थिएन। गोरो र छरितो-दुब्लो शरीर थियो। महमद अलीको एक्कामा हामीलाई विशेष आनन्द आउँथ्यो। सबभन्दा आनन्द त्यो सवारी हामीलाई शुल्करहित हुन्थ्यो। एक्कामा चार जना सवारी गर्न मिल्थ्यो। मानिसहरू खुला एक्कामा पीठ पीठ जुटाएर, दुवैतिर खुट्टा लट्काएर बस्थे। चार सवारी नपुग्दा ऊ माथि नै एक छेउमा बसेर चलाउँथ्यो, चार जना पुगेको छ भने सिट मुन्तिर बस्थ्यो।
कहिलेकाहीं रक्सौल जाँदा दुई एक्का/टाँगामा प्रतियोगिता चल्थ्यो। बाजी पर्थ्यो- को अगाडि हुन्छ? महमद अली अरू वेला शान्त रहन्थ्यो तर घोडा दौडाउनुपर्दा हातमा रहेको चाबुक चलाउन पछि हट्दैनथ्यो। प्रायः उसकै एक्का/टाँगाले जित्थ्यो। ऊ कुशल एकवान सावित हुन्थ्यो।
एक्का चलाउनेहरूका घोडा विभिन्न कारणले फेरिइरहन्थे। कहिले अरबी घोडा जस्तो हुन्थ्यो, ठूलो र बलवान्। कहिले मरियल र हड्डीपसली एउटा चादरले मात्र ढाके जस्तो लद्दु किसिमको हुन्थ्यो। त्यस्तो घोडा कहिलेकाहीं सवारी सहित हिंड्दाहिंड्दै सडकमै बसिदिन्थ्यो। यस्तो दृश्य त्यस बखत वीरगन्जको सडकमा आम हुन्थ्यो। त्यस्तो वेला केटी/महिला सवारी अलिकति लज्जाको भावमा हुन्थे। सडकबाट गुज्रिने अन्य सवारीहरू त्यस दृश्यको मजा लिन्थे। केटीहरू उत्रेर हात/मुखमा रुमाल लिएर घोडा उठ्ने पर्खाइमा रहन्थे। हामी सबै त्यसैगरी उत्रिन्थ्यौं।
त्यस्तो अवस्थामा कुनै एकवान घोडालाई सट्का लगाएर आफ्नो क्रोध प्रकट गर्थ्यो भने कोही एक्का उठाएर आफ्नो घोडालाई उठ्न मद्दत गरिरहेको हुन्थ्यो। रोषमा चाहिं हर एकवान हुन्थ्यो। सवारी भएको वेला घोडा बसिदिंदा एक त तमासा भयो, अर्को केटी भयो, अर्को ढिलाइले गर्दा। ढिलो भयो, अर्को खेप पनि ‘पसिन्जर’ ल्याइन्थ्यो, सालेले घाटा लगाइदियो!
तर महमद अली यस्तो बखत पनि शान्तै रहन्थ्यो। उसको मुखमा आक्रोश देखिँदैनथ्यो। ऊ बसेको घोडा/घोडीलाई उठाउन जोर लगाउँथ्यो। चाबुकको कम प्रयोग गर्थ्यो। अलिकति त गर्थ्यो किनभने एकवान जस्तै घोडालाई पनि बानी परेको थियो। घोडा चाबुक पाएपछि बुझ्थ्यो, अब अलिकति चाल बढाउनुपर्छ। कहिलेकाहीं कुनै भारीभरकम सवारी चढेको छ या अधिक केटाकेटी लिएर हिंडेको छ भने टाँगा उलार भइदिन्थ्यो। त्यस अवस्थामा टाँगाबाट उत्रेर सब मिलाइन्थ्यो र फेरि सफर बढ्थ्यो।
त्यस बखत रिक्सा भित्रिइसकेको थिएन। सब एक्का, अलिक पछि टाँगा चढ्थे। चार जना राखिन्थ्यो, यदाकदा पाँच पनि। कहिलेकाहीं महमद अलीको एक्का साथीभाइले नै भरिन्थ्यो। रक्सौल उत्रेपछि हामी भाडा दिन खोज्थ्यौं। त्यो उसको रोजगारी थियो। तर ऊ ज्यान गए लिन मान्दैनथ्यो। अलिक अफसोस पनि हुन्थ्यो, अपराधबोध जस्तो। तर कहिलेकाहीं साथमा पैसा कम हुन्थ्यो, सिनेमा हेर्नैैपर्ने हुँदा हामी महमद अलीकै एक्काको बाटो हेर्थ्यौं, कहाँ होला वा कहिले आउला?
उसले एक्का/टाँगा चलाउन्जेल हामीसित पैसा कहिल्यै लिएन। उसको घरको आर्थिक स्थिति कस्तो थियो, त्यति थाहा थिएन। तर कहिलेकाहीं उसको घरमै गएर पनि हामी एक्कामा चढ्थ्यौं। घोडा बाल्टिनमा थुतुनो गाडेर दाना खाइरहेको छ भने त्यही हेरेर बस्थ्यौं। त्यसपछि मात्र महमद अली आएर हौदा-लगाम सब मिलाउँथ्यो। उसको घर फुसकै थियो अथवा खपडाको, अहिले याद भएन। उसले कुशलतासाथ तामझाम मिलाएर घोडाको लगाम कसेर एक्का/टाँगामा जोतेको हेरिरहन्थ्यौं। त्यसपछि अतिरिक्त आनन्दसाथ त्यहींबाट बसेर जान्थ्यौं। आखिर केटाकेटी नै थियौं हामी र महमद अली हाम्रो साथी/सहपाठी थियो, त्यो त आफ्नो हक पनि ठान्थ्यौं।
उसको घरको भित्ताभरि गोबरका चिप्पी देखिन्थे। अघिल्तिर गोबर पाथेको एक-दुई थुम्का पनि देखिन्थ्यो। यही पाथेको गोबरको गुइँठा चुलोमा हालेर भात पकाइन्थ्यो। बेतौनामा त हर घरको चलन थियो यो। खासगरी महिलाहरूलाई केटाकेटीदेखि तालीम दिएर गोबर पाथ्नमा कुशल बनाइएको हुन्थ्यो। त्यही सारा घरको ‘जर्ना’ हुन्थ्यो। त्यसैले चुलो बल्थ्यो, भात पाक्थ्यो र पेट भरिन्थ्यो। वीरगन्जमा मुख्य सडकबाट पन्छिएर कुनै टोलमा घुस्नासाथ यो दृश्य देखिन्थ्यो। महमद अलीको घरमा घोडाको लिदीको गन्ध हुन्थ्यो। अरू पनि एकवान थिए त्यहाँ। निम्न वा निम्नमध्यम बस्ती प्रायः यस्तै हुन्थ्यो।
महमद अली घरमा खान्थ्यो के, यो त थाहा भएन। तर उसको लुगा प्रायः सेतो या घ्यू रङको कमीज-सुरुवाल, इस्त्रीले टल्काएको, सधैं लकदक रहन्थ्यो। दुब्लो तर गोरो केटो आकर्षक र व्यक्तित्वयुक्त देखिन्थ्यो। पहिरनको कारण र एक्काको मालिक हुनाले उसलाई हामी धनी ठान्थ्यौं। तर त्यस्तो थिएन।
अर्को एउटा पनि कारण थियो। ऊ आफ्नो घोडा फेरिरहन्थ्यो। उसको एक्का/टाँगामा बराबर ‘अरबी घोडा’ जोतिएको हुन्थ्यो। सम्भवतः एउटा घोडा बेचेर पैसा थपेर ठूलो घोडा किन्दो हो। परिस्थितिवश त्यो ‘अरबी घोडा’ बेचेर फेरि सानो, मरियल घोडा पनि आउँदो हो।
दुब्लो घोडा जोतेको देखेपछि महमदको हालत खराब भएछ भन्ठान्थ्यौं हामी र मनमनै सहानुभूति दिन्थ्यौं। हाम्रो अनुमान मात्र थियो त्यो। तर फेरि केही दिनपछि एउटा ‘अरबी घोडा’ उसको एक्कामा जोतिएको देखिन्थ्यो। अनि हामीलाई लाग्थ्यो, ऊ अलि सम्पन्न भएछ। खुशी हुन्थ्यौं।
त्यसरी घोडा फेर्नुको बेग्लै कारण होला। अरू पनि फेर्थे। हामी भने घोडा हेरेरै उसको सम्पन्नता वा विपन्नता नाप्थ्यौं। त्यसकारण यसमा अचम्म मान्नु पर्दैन, उसले दुब्लो घोडा जोतेका दिन भाडा लेओस् भनेर कर गर्थ्यौं, चिरौंणी नै गर्थ्यौं भने पनि भयो। उसले नलिनु त सदा काल हुन्थ्यो।
अघि ‘अरबी घोडा’ भनें। वास्तवमा हर ठूलो घोडा हाम्रा लागि ‘अरबी’ थियो र मरियल घोडा टट्टु। महमद अली अहिले भेट भयो भने चिनिन्छ कि चिनिन्न, म भन्न सक्दिनँ। म त्यस बखतको उसको अनुहार मात्र सम्झन्छु। अहिले धेरै मोटाइसक्यो कि? ऊ कहाँ छ र के छ, केही थाहा छैन।
एउटा अर्को कुरा म बिर्सिन्नँ। मलाई ‘ईद’ मा सेबई खुवाउने पहिलो व्यक्ति महमद अली नै थियो। समसुलकहाँ सेबई सबभन्दा बढी खाएको छु। पहिलो खाएको चाहिं यही महमद अलीको घरमै हो।