चार दशकअघि बनेको प्रसारण लाइनको मुआब्जा माग्दै विरोध, वीरगन्जमा लोडसेडिङ हुन सक्ने
सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।
करीब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, जग्गालाई ब्यांक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्ने लगायत माग राखी लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। स्थानीय बासिन्दाको अवरोधका कारण असोज १९ गतेबाट काम ठप्प छ।
प्राधिकरणले पूर्व-पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेशनसम्म करीब १३६ किलोमिटर खण्डमा पर्ने थोरै क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो। यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्लाई ढल्केबर सबस्टेशन मार्फत भारततर्फ निर्यात गर्न सकिन्छ।
ढल्केबर सबस्टेशनबाट सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित नवलपुर सबस्टेशनसम्म करीब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको ३६ किलोमिटर तार फेरिएको छ। तर लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करीब चार किलोमिटर तार फेर्ने काम रोकिएको छ। तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रूपमा बाँधिएको छ। एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको प्राधिकरणको भनाइ छ।
कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङ लगायत समस्या आएको र विद्युत् मागलाई व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। “चार दशकअघि बनेर चालू अवस्थामा रहेको प्रसारण लाइनमा समेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेपछि कसरी काम गर्न सकिन्छ? अवरोध हटाउन सक्दो प्रयास र पहल गरिए पनि सफल हुन सकिरहेका छैनौं,” कार्यकारी निर्देशक घिसिङले भने।
उनले तत्काल काम गर्न नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन अवरोध भएर हिउँदमा वीरगन्ज लगायत क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने बाध्यकारी अवस्था आउन सक्ने जोखिम रहेको बताए ।
आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका मेयर, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दा लगायतसँग पटक पटक छलफल गरिए पनि कुनै निष्कर्ष आउन नसकेको बताए। स्थानीयले माग पूरा नभएसम्म आफ्नो जग्गामा टेक्दै नटेक्न चेतावनी दिएको उनले बताए।
१३२ केभी प्रसारण लाइनको मध्यबिन्दुबाट दायाँ-बायाँ नौ-नौ मिटर मार्गाधिकार तोकिएको छ। ब्यांक तथा वित्तीय संस्थाले उक्त मापदण्ड विपरीत ५० मिटरसम्म पर्ने जग्गाको समेत धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन्।
तार फेर्ने कार्यलाई खण्ड-खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा हेटौंडाबाट पथैलियासम्मको काम सम्पन्न भइसकेको छ। प्राधिकरणका अनुसार दोस्रो खण्डमा ढल्केबरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ। तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथलियासम्मको तार फेर्ने काम अगाडि बढाइनेछ।
एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालू गरी अर्को सर्किटको तार फेर्न शुरू गरिने प्राधिकरणले जनाएको छ। १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता २०७० साउन ४ मा कार्यान्वयनमा आएको थियो। आयोजनाको काम २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।