उद्धव थापाले संसदीय दलबाट दिए राजीनामा
कोशी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्।
कांग्रेसका केदार कार्की शनिबार नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि संसदीय दलका नेता थापाले राजीनामा दिएका हुन्। उनले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको जनाएका छन्।
शनिबार प्रदेश संसदीय दललाई दिएको राजीनामापत्रमा थापाले भनेका छन, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रूपमा बसिरहन उपयुक्त नभएको महसूस गरी आजको मितिदेखि लागू हुने गरी नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरनेछु।’
कांग्रेस संसदीय दलले मुख्यमन्त्रीमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर डा. शेखर कोइराला पक्षधर आठ सांसदले विरोध गरेका थिए। उनीहरूले एमालेको समर्थन लिएर कार्कीलाई अघि बढाएका थिए।
एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेसमा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ।