टिस्टाको बाढीले सम्पर्कविहीन बनेका नेपाली घर फर्किंदै
भारतको सिक्किममा आएको बाढीका कारण सम्पर्कविहीन पाँच जना नेपाली परिवारको सम्पर्कमा आएका छन्।
असोज १७ गते सिक्किमको दक्षिण ल्होनाक हिमताल फुट्दा चुङथाङ बाँध भत्किएको थियो। जसले गर्दा टिस्टा नदीमा विनाशकारी बाढी आएको थियो।
यसले सिक्किमसँगै पश्चिम बंगाल र बाङ्लादेशसम्म असर गरेको थियो। बाढीका कारण ४८ जनाको ज्यान गएको थियो।
त्यही दिनदेखि टिस्टा क्षेत्रमै रहेका इलामको इलाम नगरपालिका-९ का पाँच जना सम्पर्कविहीन थिए। उनीहरू अहिले सम्पर्कमा आइसकेको वडाध्यक्ष गोपाल चौहालले बताए। “टेलिफोन नेटवर्कको समस्याका कारण सम्पर्कविहीन भएका रहेछन्, नौ दिनपछि सम्पर्कमा आएका छन्,” वडाध्यक्ष चौहानले हिमालखबरसँग भने।
इलामका ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, ३५ वर्षीया नरमाया बस्नेत, नौ वर्षीया खुशी बस्नेत र २८ वर्षीय कुमार खड्का सम्पर्कविहीन भएका थिए। उनीहरूका परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालय, इलाममा निवेदन दिएका थिए।
नौ दिनपछि सम्पर्कमा आएका पाँचै जना घर फर्किरहेको वडाध्यक्ष चौहानले बताए। “पाँचै जना टिस्टाबाट हिंडिसकेका छन्, आज बेलुकासम्म घर आइपुग्छन्,” उनले भने।
उनीहरू रोजगारका लागि तीन महीनाअघि सिक्किम पुगेका थिए।
यो पनि पढ्नुहोस्: सिक्किम प्रकोपको नेपाललाई चेतावनी