पुस्तक पढ्ने कि जीवन?
‘राष्ट्रपति रामचन्द्र पौडेलले हत्यारा छोड्ने सिफारिशमा ल्याप्चे ठोकेछन्। अहिले गिडगिडाउँदै छन्- राष्ट्रपतिको बाध्यात्मक कर्तव्य, राष्ट्रपतिलाई दोष नदिनू। बबुरोलाई गई सोधौं- के पढ्ने, किन पढ्ने? दर्जनौं किताबका नाम लिन सक्छन्।’
तपाईंलाई ‘के पढ्न, किन पढ्ने’ भन्ने प्रश्न गरियो भने के जवाफ दिनुहुन्छ? साहित्यकार सरुभक्तको जवाफ भने पुस्तकभन्दा पनि जीवन पढ्ने भन्नेतिरै ढल्किन्छ।
पोखराको हिमालयन रीडर्स कर्नरमा शनिबार र्यान्डम रीडर्स सोसाइटीले आयोजना गरेको ‘के पढ्ने, किन पढ्ने?’ संवाद कार्यक्रममा साहित्यकार सरुभक्तले जीवनमै जोड दिए। उनले के पढ्ने भन्दा पनि किन पढ्ने भन्ने महत्त्वपूर्ण रहेको जिकिर गरे।
यसका लागि सरुभक्तले राष्ट्रपति रामचन्द्र पौडेलको प्रसङ्ग निकाले। राष्ट्रपति पौडेलले थुप्रै पुस्तक पढेका मात्रै छैनन्, लेखेका पनि छन्। तर त्यो पढाइ हत्यारालाई आममाफी दिंदा काम नलागेको सरुभक्तको भनाइ थियो।
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले बाँकेका रिगल ढकाललाई कैद मिनाहा गरे। बाँकेकै चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगललाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। “राष्ट्रपति रामचन्द्र पौडेलले हत्यारा छोड्ने सिफारिशमा ल्याप्चे ठोकेछन्,” सरुभक्तले भने, “राष्ट्रपतिलाई के पढ्ने, किन पढ्ने भनेर सोध्यौं भने दर्जनौं किताबका नाम लिन सक्छन्।”
पढाइ महत्त्वपूर्ण भए पनि यसले मान्छेलाई आग्रही बनाउने उनको तर्क थियो। “धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण हो। पढेको कुरा सम्झिबस्नु महत्त्वपूर्ण होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्त्वपूर्ण हो,” सरुभक्तले भने, “पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ। किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन्।”
साहित्यकार सरुभक्तले राखेको विचारको सम्पादित अंशः
नेपालकै पुराना राष्ट्रपतिका कुरा नगरौं, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले हत्यारा छोड्ने सिफारिशमा ल्याप्चे ठोकेछन्। अहिले गिडगिडाउँदै छन्- राष्ट्रपतिको बाध्यात्मक कर्तव्य, राष्ट्रपतिलाई दोष नदिनू। बबुरोलाई गई सोधम्- के पढ्ने, किन पढ्ने? दर्जनौं किताबका नाम लिन सक्छन्।
अझ पछाडि हेरौं, दार्शनिक सुकरातले के के पढे होलान्, के के सोचे होलान्? लेख्न चाहिं केही लेखेनन्। उनका चेला प्लेटो र प्लेटोका पनि चेला अरस्तुले अनेक किताब लेखे। अब को ज्ञानी?
त्यस्तै, जिसस क्राइस्ट, मोहम्मद पैगम्बर र सिद्धार्थ गौतमहरूले हामीभन्दा कमै किताब पढ्न पाए तर अहिले उनकै धर्मका किताब पढेकाहरू ज्ञानी मानिएका छन्। किताब पढेर धर्मयुद्ध जारी छ, विश्वभर। सहअस्तित्व, सहिष्णुताको प्राचीन भूमि मानिने हाम्रो देशमा धरान-नेपालगन्ज काण्ड घटित भइसके।
किताब पढेका ज्ञानीहरूले रेनेसाँ मात्र ल्याएनन्, दार्शनिक ब्रुनोलाई जिउँदै जलाए, वैज्ञानिक ग्यालिलियोलाई झन्डै मारे, लेखक सलमान रुश्दीलाई फतवासँगै छुरा प्रहार गरे। पुराना हातहतियारका विकल्पमा अरू नयाँ र विध्वंसात्मक हतियार निर्माण गरे। अणु बम बनाए। अहिले सम्पूर्ण विश्व किताब पढ्ने-लेख्नेहरूको सन्त्रासमा बाँचेको छ।
यस्तै, वाल्मीकिले रामायण रचे, कृष्ण द्वैपायन व्यासले महाभारत। अन्धो होमरले इलियट, ओडेसी। के उनीहरूले ग्याब्रियल मार्खेजको वान हन्ड्रेड इयर्स अफ सोलिच्यूड पढ्न पाए? के उनीहरूले ल्यापटप र एन्ड्रोइड मोबाइल चलाए?
हाम्रै भानुभक्त बाजेले पनि पुराना केही शास्त्र पढ्न भ्याए। अहिलेका नयाँ शास्त्रहरू जन्मलान् भन्ने अमरावती कान्तिपुरी नगरीका यात्रीलाई के पत्तो? के उनलाई अहिलेका उन्नत ज्ञानविज्ञानको किताब नपढेर केही फरक पर्यो?
जेम्स वेब स्पेस टेलिस्कोपले प्रत्येक क्षण नयाँ नयाँ सत्य उद्घाटन गरिरहेको छ। वैज्ञानिकले प्रत्येक दिन नयाँ नयाँ सत्य खोजिरहेका छन्। दार्शनिकले नयाँ नयाँ चिन्तन गरिरहेका छन्। साहित्यकारले नयाँ नयाँ सिर्जना गरिरहेका छन्। यस्तो लाग्छ, सत्य अहिले पनि नयाँ हुन्छ, संशोधनीय हुन्छ। तर मानवीयताको लक्ष्य के हो?
२०४० सालतिर मैले एउटा नाटक लेखेको थिएँ- इतिहासभित्र इतिहास। मेरो विचार थियो- मानवता अथवा मानव सभ्यता जति विकसित भए पनि मूलभूत रूपमा आदिम अवस्थामै अवरुद्ध छ। आदिम प्राणीका नैसर्गिक प्रवृत्ति जे थिए, अहिलेका विकसित प्राणी मानिसका मूल प्रवृत्ति पनि तिनै छन्।
बुद्धले हिंसा नगर भने, हामी हिंसा गरिरहेका छौं। जिससले प्रेम गर भने, हामी घृणा गरिरहेका छौं। मोहम्मदले दयालु भावका कुरा गरे, हामी अरूका घाँटी काटिरहेका छौं। कृष्णले निष्काम कर्मका कुरा गरे, हामी असंख्य स्वार्थमा कैद छौं। दुःखको कुरा, धर्मको झन्डा बोक्नेहरू नै एकअर्काका रक्तपिपासु भएका छन्। त्यसैले इतिहासका कुन किताब पढेर हामीले प्रगति गर्ने? आत्मोन्नति गर्ने?
हामी सिर्जनाधर्मी साहित्यकार पनि कम्तीका छैनौं, झन्डा बोक्न। कहिले झन्डा फेरफार गरेर बोक्न! साहित्यकारले झन्डा बोक्ने कि सिर्जनाको विराट् विश्व निर्माण गर्ने? जहाँ सबैको वास होस्, जहाँ सर्वत्र आश होस्।
यो सानो कार्यक्रम कक्षमा झन्डा बोक्ने कति छन् भनेर म जनमत संग्रह गर्दिनँ। तर मेरो समस्या छ, कसैले मलाई कुन किताब वा सो सरह अरू माध्यममा पढ्ने सोध्नुभयो भने किताबको नाम भन्नुभन्दा पहिले सोध्नुपर्छ, तपाईं कुन झन्डा बोक्नुहुन्छ वा बोकिराख्नुभएको छ?
धर्म, जात, राजनीति, सम्प्रदाय र अनेक विभेदका भासमा, राजनीतिक अक्षमता र झगडालु मानसिकताको गर्तमा फसिरहेका छौं। यस्तो विकट समयको प्रश्न हो, के पढने? किन पढ्ने? प्रश्न सरल छ, बारम्बार गरिनुपर्ने खालको छ तर उत्तर वर्तमान देशका जटिलताहरू झैं जटिल हुन सक्छन्।
यति थाहा छ, पढ्नु महत्त्वपूर्ण हो, के पढ्ने महत्त्वपूर्ण होइन। किन पढ्ने भन्ने प्रश्नको उत्तर जानेर पढ्नु महत्त्वपूर्ण होइन। किन पढ्नु भन्ने नजानेरै पढ्नु महत्त्वपूर्ण हो।
धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण हो। पढेको कुरा सम्झिबस्नु महत्त्वपूर्ण होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्त्वपूर्ण हो।
पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ। किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन्।
मेरा अभिरुचिको किताब पढ्छु भनेको मेरो आग्रहको किताब पढ्छु भन्नु हो। मान्छे अहम्द्वारा परिचालित छ। अहम् मान्छेको ज्ञान, विश्वास, परिवेश र नैसर्गिक परिवेशद्वारा निर्मित छ। अहम्युक्त विश्वमा किन पढ्ने भनी व्याख्यान दिनु, के कुरा पढ्ने भनी छनोट गर्न लगाउनु एककोणीय हुन्छ।
विश्व एक कोणद्वारा निर्मित छैन, अनेक कोणद्वारा निर्मित छ। बहुकोणीय अहम्मा विश्वास गर्ने मान्छे म, त्यसैले कसैलाई के पढ्ने भन्ने सल्लाह दिने इच्छा गर्दिनँ।
किन पढ्ने?
अर्बपति बिल गेट्स किताब पढ्छन् तर गैह्रआख्यान रे! अब उनलाई साहित्य किन पढ्दैनौ भनेर सोध्नु?
एलन मस्कले विज्ञान पढे, इन्जिनीयर भए। वैज्ञानिक निकोला टेस्लाको योगदानलाई सम्मान गरेर टेस्ला कम्पनी खोले, केही साथीसँग मिलेर। मस्कलाई किन पढ्दैनौ भनेर प्रश्न गरियो भने उनले ‘साहित्य पढ्ने समय छैन’ भन्लान्।
लेखपढ गरेका मान्छेले आफ्नो चासोका पुस्तक रोज्छन्। धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चाहने मानिसका पुस्तक चयन फरक फरक हुन्छन्।
त्यसैले पुस्तक पढ्नुको अर्थ ‘केही बन्न’ का लागि कि ‘स्वयं आलोकित हुन’ का लागि?
पढेकाहरूले पढाइबाट वञ्चित भएका, गरिएकाहरूसँग क्षमायाचना गर्नुपर्छ। यस्ता मानिसको संख्या ठूलो छ। उनीहरूलाई के पढ्ने, किन पढ्ने भनी प्रश्न गर्नु अपमान गर्नु हो।
मैले सय वटा किताबका नाम टिपाएपछि पढ्नुहुन्छ भने तपाईंले मेरा अभिरुचिलाई पढ्नुपर्छ। यो तपाईंको मौलिकता र स्वतन्त्रताको हनन हो। तर मसँग सरल प्रश्नको एक सरल, मेरो विश्वासमा उपयुक्त उत्तर भने अवश्य छ।
के पढ्ने, किन पढ्ने? तपाईं अरूलाई होइन, आफैंलाई सोध्नुहोस्। आफ्नै अन्तरात्मालाई सोध्नुहोस्। अन्तरात्माले झूटो बोल्दैन भन्ने कथन कम्तीमा अहिलेको मितिसम्म झूटो मानिएको छैन। बरु तपाईंको अन्तरात्मा साँच्चैको प्राकृतिक नै छ कि कृत्रिम भइसक्यो? महसूस गर्ने जिम्मा तपाईंकै।
अन्त्यमा एउटा मुक्तक:
चढ्नु छ भने थुम्को हैन हिमाल नै चढ्ने भन्छन्,
बढ्नु छ भने धर्ती छोडी आकाशमै बढ्ने भन्छन्।
ज्ञानविज्ञान-पुस्तकका प्राप्ति कति छन् कति छन्,
जान्नेहरूले पुस्तक हैन जीवन नै पढ्ने भन्छन्।।