कोशीमा आज मुख्यमन्त्री नियुक्त गरिंदै
कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्।
हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। यसका लागि उनले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए।
मुख्यमन्त्रीका लागि दुई जनाले दाबी गरेका छन्। नेकपा (एमाले)को समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् भने गठबन्धन दलको समर्थनमा नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका छन्।
दुवै जनाले ४७-४७ सांसदको हस्ताक्षर बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री बन्न कम्तीमा ४७ सांसदको हस्ताक्षर बुझाउन आवश्यक थियो।
मुख्यमन्त्रीको दाबी गरेका दुवै जनाले बहुमत सांसदको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङले आज सनाखत गर्दै छन्। उनले सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा बोलाएका छन्। शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखत गर्ने समय तोकिएको छ। त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने जनाएका छन्।
कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।