दशैंका लागि यात्रुवाहक सवारी साधनको रूट परमिट खुला
दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीसाधनको रूट परमिट खुला गरिएको छ।
यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आजदेखि सार्वजनिक सवारीसाधनको रूट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि असोज २३ मा बसेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्व समितिले रूट परमिट खुला गर्ने निर्णय गरेको थियो।
आगामी कात्तिक १० गतेसम्म रूट परमिट खुला रहनेछ। रूट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाध रूपमा जान पाउनेछन्।
त्यस्तै, आजदेखि खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ।
दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै टिकट बूकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष दशैं मनाउन २० लाखभन्दा बढी व्यक्ति काठमाडौंबाट बाहिरिने गरेका छन्।