सांसद लेखक र थापा विरुद्ध सर्वोच्चमा रिट
अदालतको अवहेलना गरेको भन्दै नेपाली कांग्रेसका सांसद रमेश लेखक र नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुर थापा विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
दैलेखका यज्ञप्रसाद अधिकारीले सांसदद्वय लेखक र थापा विरुद्ध शुक्रबार सर्वोच्च अदालतको इजलासमा रिट दिएका हुन्। यसअघि उनले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो।
त्यस विरुद्ध उनले इजलासमा निवेदन दिएका हुन्। सर्वोच्च अदालत प्रशासनको दरपीठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न आदेश माग गरेका छन्।
यसअघि सर्वोच्च अदालतले सांसद विकास कार्यक्रम कोष अर्थात् संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सांसदद्वय लेखक र थापाले सर्वोच्चको आदेश विपरीत संसद् र सञ्चारमाध्यममा बोलेर अदालतको अवहेलना गरेको अधिकारीको जिकिर छ।