कोशीमा शेखर पक्षको विद्रोहपछि देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कोशी प्रदेशमा डा. शेखर कोइराला समूहले गरेको विद्रोहबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ३ बजे पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निजी निवासमा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यलाई बोलाइएको छ।
कोशी प्रदेश सरकार गठनका क्रममा डा. कोइराला पक्षका आठ जना सांसदहरूले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने बताएका छन्। उनीहरूले बिहीबार कोशी प्रदेश प्रमुखलाई भेटेर कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए।