कोशीमा कसैको पक्ष नलिने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभामा कसैलाई पनि समर्थन नगर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा भएको जनाइएको छ।
पार्टीको रणनीति तय गर्न बसेको बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए। “कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समीक्षा गरेका छौं,” प्रवक्ता श्रेष्ठले भने, “घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइनेछ।”
कोशीको मुख्यमन्त्रीका लागि नेकपा (एमाले)को समर्थनमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेश गरेका छन्। त्यस्तै, गठबन्धनको समर्थनमा नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्।