एनआरएनएको अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनएको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गतेसम्म काठमाडौंमा हुँदै छ। एनआरएनएको महाधिवेशनको राष्ट्रपतिले असोज ३० गते उद्घाटन गर्ने कार्यक्रम छ। त्यही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए। कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ।
एनआरएनएले पहिलो पटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ। मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ। मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिंक पठाइनेछ। लिंक खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
महाधिवेशनको तयारीका लागि यसअघि ५९ राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन सम्पन्न भइसकेको थियो। निर्वाचनबाट महाधिवेशनका लागि जम्मा चार हजार २२७ अन्तर्राष्ट्रिय प्रतिनिधि निर्वाचित भइसकेका छन्। अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु पर्दैन तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्नेछ।
नेपाल आउने उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटर मार्फत मतदान गर्ने व्यवस्था गरिएको उनले बताए। उम्मेदवार र अन्य मतदाता गरी एक हजार ५०० हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान छ।
अहिलेसम्म एनआरएनएमा उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसकेका छन्। एनआरएनएको दशौं महाधिवेशनको निर्वाचनमा विवाद भएपछि तीन जना अध्यक्ष रहने गरी सहमति गरिएको थियो। हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले ६-६ महीना कार्यकारी अध्यक्ष हुने गरी सहमति गरेका थिए।
एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए सचिवालयले महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचन तालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई वासको व्यवस्था लगायत तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिए।
महाधिवेशनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँचसदस्यीय निर्वाचन समिति गठन गरिएको छ। बिहीबारदेखि उम्मेदवारी दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उनले बताए। एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ। उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ। असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ।
महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ। सन् २००३ अगस्टमा लन्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौंमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो। एनआरएनएले ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। -रासस