नेपालगन्जमा आगलागी हुँदा सात पसलमा क्षति
बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित बीपी चोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।
विद्युत् चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचर लगायत पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। “अधिकांश सामान जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदै छ,” डाँगीले भने।
नेपालगन्ज उपमहानगरको दमकलले दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो। आगो निभाउन उपमहानगरका तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।