इजरायलमा भेटिएको नेपाली परिवार
यसै साता हमासको आक्रमणबाट चामत्कारिक ढङ्गले जोगिएका एक नेपालीले इजरायलमै नयाँ नेपाली परिवार फेला पारेका छन्।
कमाउँदै सिक्ने कार्यक्रम (अर्न एन्ड लर्न) अन्तर्गत नेपालबाट इजरायल आएका विद्यार्थीमध्ये प्रवीण डाँगी हमासको आक्रमणबाट चामत्कारिक ढङ्गले बाँच्न सफल भएका थिए। जेरुसलमको एक अस्पतालमा उनको शल्यक्रिया चल्दै गर्दा बाहिर कुरिरहेकी म बेचैन थिएँ।
इजरायलमा रहेको नेपाली समुदायले बनाएको सामाजिक सञ्जालको ग्रूप च्याट मार्फत प्रवीणलाई जेरुसलमको अस्पताल ल्याइएको थाहा पाएकी थिएँ। म सोही शहरमा बस्ने भएकीले हतारिंदै त्यहाँ पुगेकी थिएँ। प्रवीणको दुवै खुट्टामा गोली लागेको थियो।
उनीमाथि प्रहार भएका अरू गोली लागेको भए बंकरमा रहेका अन्य साथी जस्तै उनको पनि ज्यान जान सक्थ्यो। तर ती गोली पर्खाल छेडेर बाहिर गए। गोली लाग्दा उछिट्टिएको पर्खालको टुक्रा प्रवीणको टाउकोमा खसेकाले टाँका लगाउनुपर्यो।
अस्पतालमा अर्को चमत्कारको आश गर्दै गर्दा नेपालीहरू मारिएको खबरले मलाई निकै व्यथित बनाएको थियो। सम्भवतः अन्यत्रका नेपालीले पनि त्यस्तै अनुभूति गरिरहेका थिए।
प्रवीणले बंकरमा लुकिरहेका वेला सार्वजनिक गरेको भिडिओमा भनेका थिए, “मेरी आमा बिरामी छिन्। कृपया उनलाई बचाउनुहोस्, मलाई लाग्छ म मर्छु।” तर उनी जीवितै थिए।
यो पराई भूमिमा कोही अपरिचित व्यक्ति जीवित रहेको खबरले मलाई पनि उल्लसित बनाएको थियो। तर उनी मेरा लागि अपरिचितै पनि थिएनन्।
विदेशमा हुँदा नेपाली भन्नासाथ तुरुन्तै एउटा सम्बन्ध बनिहाल्छ र निकटता अनुभूति हुन थाल्छ। मेरै छोराको उमेरका उनी कस्तो अवस्थाबाट गुज्रिन बाध्य भए भन्ने थाहा पाएपछि म सहयोग गर्न आतुर थिएँ। पक्कै पनि उनी मेरा लागि अपरिचित थिएनन्।
हामी एउटै परिवार भइसकेका थियौं। र, सम्भवतः सिङ्गो नेपालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेको थियो।
आखिरमा ६ घण्टापछि सफलतापूर्वक शल्यक्रिया टुङ्गियो। मैले मेडिकल स्टाफहरूलाई अनुरोध गरेर उनलाई हेर्ने अनुमति मागें। त्यो अस्तव्यस्त क्षणमा नियमले खासै अर्थ राख्दैनथ्यो। मैले अनुमति पनि पाइहालें।
मैले उनलाई आफू दिदी भएको भन्दै चिनाएँ। उनले आफ्ना खुट्टा छन् कि छैनन् भनेर सोधे। मैले उनका खुट्टा सग्लै भएको भन्दै विश्वास दिलाएँ। उनको घाउ निको हुन समय लाग्ने भए पनि खुट्टा काटिएका थिएनन्। उपचार र थेरापीपछि उनी स्वाभाविक जीवनमा फर्किन सक्छन्।
मैले उनको आत्मविश्वास उँचो राख्न सक्दो प्रयास गरें। र, त्यो दु:स्वप्नबाट ध्यान भड्काउन कुराकानी मोडिरहें। भीडभाड भएको त्यो अस्पतालमा सबैजसो बेड घाइतेले भरिएका थिए। त्यस्तो अवस्थामा उनी कति भाग्यमानी छन् भनेर सम्झाएँ।
अरू नेपालीहरू पनि प्रवीणलाई सघाउन आए। हामी सबै यहाँ काम गर्न आएका हौं। हामी सबै हरेक दिन लामो समय काम गर्छौं। तर अस्पतालमा उनीसँग हरेक समय कुनै न कुनै नेपाली रहने गरी हामीले समय मिलायौं। त्यति मात्र होइन, नेपालीहरूले पैसा उठाएर उनका निम्ति फोन किनिदिए ताकि आफ्नो परिवारसँग सम्पर्कमा रहन सकून्। उनलाई भोक लाग्दा हामीले नेपाली खाना पुर्याउने गरी तयारी पनि गर्यौं ताकि स्वास्थ्यमा सुधार हुँदा एक्लो अनुभूति नहोस्।
उनलाई थाहा थियो, उनका बुबा निकै अत्तालिइरहेका छन्। त्यसैले पहिलो भेटमै मैले उनका पितालाई फोन गरें। उनी रोए तर आफ्नो छोराको स्वास्थ्यबारे थाहा पाएर सन्तोष पनि जनाए। त्यसो त उनीसँगै म पनि रोएकी थिएँ। हुन पनि कति भयानक क्षण हो यो, कल्पना गर्नोस् त, ठूलो सपना देखेर भर्खरै विदेश गएको छोरा यस्तो घटनामा परेको थाहा पाउँदा परिवार कुन अवस्थामा पुग्छ होला?
अहिले छोराहरू क्यानडा र अमेरिकामा छन्। राम्रोसँग पढेर उनीहरू आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्। तर आफ्ना सन्तान हुर्केको आफ्नै आँखाले देख्न नपाउनुको पीडा, भोग्नेले बाहेक अरू कसैले महसूस गर्न सक्दैन।
उनी मृत्युबाट त जोगिए तर सुधार हुने प्रक्रिया लामो छ। सुदूरबाट आउने अप्रत्याशित खराब समाचारहरू हामी जस्ता अन्तरदेशीय परिवारका लागि स्वीकार गर्न गाह्रो पर्ने तीता यथार्थ हुन्। तपाईं सधैं जस्तै सामान्य अवस्थाबाट गुज्रिनुभएको हुन्छ। अनि एकाएक यस्तो घटना हुन्छ र जिन्दगीमा उलटपुलट हुन्छ। मृत्यु, बिरामी, दुर्घटना र प्रवीणको सन्दर्भमा जस्तै आतङ्ककारी हमलाले जिन्दगी नै बदलिदिन्छ।
म आफैंले पनि त्यस्तो क्षण भोगेकी छु। सात वर्षअघि हृदयाघातका कारण मेरा पतिको अचानक निधन भएको खबर घरबाट आउँदा म त्यस्तै अवस्थामा पुगेकी थिएँ।
उनी निकै प्रेमिल श्रीमान् थिए। उनको अभाव मेरो जिन्दगीमा सधैं रहिरहनेछ। अहिले पनि त्यो खबर पाएपछि म कसरी नेपाल पुगें र फर्किएँ भन्ने मलाई नै थाहा छैन। धमिला छन् ती यादहरू। इजरायलमा केयरगिभरको काम गर्ने मलाई नै फर्केपछि केयर (स्याहार) चाहिएको थियो।
म बिरामी थिएँ। बारम्बार बेहोस हुन्थें। भोक लाग्दैनथ्यो। कमजोर भएकी थिएँ। रक्तचाप घटेको थियो। र, अचानक बिरामी पर्दा कोठासम्म ल्याएर छोडिदिनुपर्थ्यो। म पूर्णतः औषधिको भरमा बाँचेकी थिएँ। अचानक म पूरै क्षतविक्षत भएकी थिएँ र झन् झन् कमजोर भइरहेकी थिएँ।
शोकले मानिसलाई विभिन्न तरीकाले असर गर्छ। मैले त्यो शोक सहन निकै संघर्ष गरें। भाग्यवश मैले काम गर्ने इजरायली परिवार बुज्झकी थियो। उनीहरूले मलाई त्यो शोक सहने वातावरण उपलब्ध गराइदिए। उनीहरूले बारम्बार मलाई नेपाल जान भन्थे ताकि म आफ्नै परिवारसँग रहन सकूँ। मैले भने त्यहीं बस्ने जिद्दी गरिरहें।
त्यो शोकको गहिरो कुवाबाट मैले आफैंलाई निकाल्नुपर्ने थियो। नेपालमा रहेका मेरा छोराहरूको सम्झनाले मात्रै मलाई बलियो बनाइरह्यो। पतिको निधनपछि म उनीहरूको एक्ली अभिभावक जो थिएँ। उनीहरूका निम्ति पनि मैले दह्रो हुनैपर्थ्यो।
विदेशका १५ वर्ष जीवनकै महत्त्वपूर्ण पाटो हो। र, केयरगिभरको काम उतारचढाव, आम्दानी र नोक्सानीले भरिएको छ।
मेरो कमाइ राम्रो छ। र, त्यो कमाइ मैले छोराहरूको पढाइमा खर्च गरेकी छु। अहिले छोराहरू क्यानडा र अमेरिकामा छन्। राम्रोसँग पढेर उनीहरू आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्। तर आफ्ना सन्तान हुर्केको आफ्नै आँखाले देख्न नपाउनुको पीडा भोग्नेले बाहेक अरू कसैले महसूस गर्न सक्दैन।
त्यसो त मेरा छोराहरूलाई आमाको काखमा हुर्किनुको अनुभूति छैन। तर म काम गर्न इजरायल नआएकी भए सम्भवतः आज उनीहरूले जुन सफलता पाएका छन् त्यो पाउने थिएनन्।
म १४ वर्षकी हुँदा मेरो विवाह भएको थियो। त्यति वेला म आफैं बच्चा थिएँ। मेरी सासूआमा बितेकाले किशोरवस्थामा नै म मेरा पतिभन्दा आठ वर्ष कान्छा भाइबहिनीको अभिभावक बन्नुपरेको थियो। उनीहरूले पनि मलाई आमालाई जस्तै व्यवहार गर्थे। शुरूमा खाना पकाउन सिक्दा र उनीहरूको स्याहार गर्दा मलाई आफैंलाई के गरिरहेछु जस्तो लाग्थ्यो।
सत्य के हो भने, २०/२२ वर्षको लक्का जवान आफ्ना साथीहरू मारिएको भयानक आक्रमणबाट बचेर आफ्नो घरबाट कोशौं दूर अस्पतालको बेडमा पल्टिरहेछ। यही दृश्यले देखाइरहेछ, जीवन कति क्षणिक छ।
त्यति वेला गरेको त्यो दुःखले नै मलाई सन् २००७ मा इजरायल आएर केयरगिभरको काम गर्न थालेपछि सघाएको हो। यहाँ आएपछि मैले तीन वटा परिवारमा काम गरिसकेकी छु। मैले सेवा उपलब्ध गराउनुपर्ने वृद्ध बिरामीहरूको निधन भएकाले दुई ठाउँमा मैले काम छोड्नुपर्यो।
आफूप्रति झन्भन्दा झन् निर्भर भएका कमजोर ज्येष्ठ नागरिकहरूसँग छिट्टै नै नजिक भइहालिन्छ। उनीहरूलाई साथ दिनु र गफ गर्नु मेरो जागीरको मुख्य हिस्सा हो। उनीहरू आफ्ना जवानीका दिन सम्झिन्छन्। अविस्मरणीय क्षणहरू सुनाउँछन्। र, काम लाग्ने सुझावहरू दिन्छन्।
बर्सेनि बिदामा नेपाल घर जाँदा मेरो ठाउँमा काम गर्न बसेका (जो प्रायः नेपाली नै हुन्थे)ले मलाई फोन गरेर ‘सकेसम्म छिटो आऊ हजुरआमाले सम्झिरहनुभएको छ’ भन्थे।
म उनीहरूका हरेक थोक बोकेर हिंड्थें। मेरी एक जना सेवाग्राहीले आफ्नो अन्तिम दिनसम्म पनि हरेक बिहान मेकअप गराउन लगाउँथिन्। उनी घर बाहिर खान रुचाउँथिन्। आफ्नो जिन्दगीप्रति निकै नै अभिरुचि राख्थिन् उनी।
उनैले मलाई आफ्ना प्रिय तुर्की नाटकसँग चिनाएकी थिइन्। म पहिलो पटक इजरायल आउँदा जसकोमा काम गरेकी थिएँ, उनले मलाई ‘यालान्ची’ (इजरायली परिकार) बनाउन सिकाएकी थिइन्। म आएकै वर्ष उनको निधन भयो तर हरेक पटक त्यो परिकार बनाउँदा वा खाँदा म उनैलाई सम्झिन्छु।
मैले अहिले जसलाई सेवा दिइरहेकी छु, उनीकहाँ काम गर्न थालेको ११ वर्ष भयो। पछिल्लो केही वर्षदेखि उनी अस्पताल भर्ना भएकी छन्। र, दिनभरि उनलाई साथ दिनु नै मेरो काम हो। उनको स्वास्थ्य प्रतिदिन बिग्रँदै गइरहेछ।
त्यसैले उनी मशिनहरूको भर पर्न विवश छिन्। खाना पनि मशिनले नै खुवाइदिन्छ। केयरगिभरका रूपमा उनलाई आत्मविश्वास र साथ दिनु बाहेक मेरो खासै काम छैन।
मैले उनलाई के भइरहेछ भन्ने बताएकी थिएँ। उनको हाउभाउबाटै मेरो कुरा बुझ्छिन् भन्ने मलाई थाहा छ। अस्पतालले उनको सम्पूर्ण हेरविचार गर्छ। तैपनि उनको परिवारले मलाई उनीसँगै बस्न भन्छ। मेरो साथले उनको स्वास्थ्य र आत्मविश्वासमा देखिने गरी प्रभाव पार्ने उनीहरू भन्छन्। अर्को साता उनी ९९ वर्षकी हुँदै छिन्।
उनी मेरो अन्तिम रोजगारदाता हुनेछिन्। त्यसपछि म आफ्नै परिवारसँग समय बिताउनेछु। मैले अमेरिकामा रहेको छोरासँग एक महीना बिताएकी थिएँ। र, त्यति वेला म उसको बुबाको निधन भएपछि पहिलो पटक दिलैदेखि हाँसेकी थिएँ। हामीले खूब गफ गरेका थियौं। मैले उसका लागि खाना बनाएकी थिएँ। आउँदा दिनहरूमा त्यसैगरी समय कटाउने योजना छ मेरो। गुमाएका क्षणहरू सँगै बिताउन चाहन्छौं हामी।
इजरायलमा यत्तिका वर्ष बिताएकाले मेरा लागि साइरन बज्नु सामान्य भइसकेको थियो। हरेक पटक साइरन बज्दा दौडेर बंकरमा लुक्नुपर्छ। तर यो साता यसअघि कहिल्यै नगरेको अनुभव गर्नुपर्यो। जीवन यति क्षणभङ्गुर छ, कति वेला के हुन्छ भन्नै सकिंदैन।
सत्य के हो भने, २०/२२ वर्षको लक्का जवान आफ्ना साथीहरू मारिएको भयानक आक्रमणबाट बचेर आफ्नो घरबाट कोशौं दूर अस्पतालको बेडमा पल्टिरहेछ। यही दृश्यले देखाइरहेछ, जीवन कति क्षणिक छ।
(अङ्ग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)