इजरायलबाट २५४ नेपालीको उद्धार (तस्वीरहरू)
इजरायलको युद्धग्रस्त क्षेत्रबाट २५४ नेपाली विद्यार्थी शुक्रबार बिहान स्वदेश आइपुगेका छन्। नेपाल सरकारले उनीहरूलाई उद्धार गरेर ल्याएको हो।
गत शनिबार प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेपछि घर फर्कन चाहने ५०३ नेपालीले दूतावासमा आवेदन दिएका थिए। उनीहरूमध्ये २५४ जनालाई ल्याइएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए।
मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी गराए। यस घटनामा परी चार नेपाली नागरिक घाइते भएकामा एक जना उपचारपछि आजै स्वदेश फर्किएका, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए।
यस्तै, हालसम्म सम्पर्कविहीन विपिन जोशीको खोजी पनि जारी रहेको उनले जानकारी दिए। “आक्रमणमा परी सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ। यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउनेछौं,” उनले भने।
हाल इजरायलको तेल अभिभबाट नियमित रूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यस पटक कारणवश छुटेका नेपालीलाई आवश्यकता अनुसार सरकारले नेपाल फर्काउन प्रबन्ध मिलाउने मन्त्री साउदको भनाइ छ।
इजरायलमा हमासको आक्रमणमा परेर १० नेपालीको ज्यान गएको छ।