अञ्जनको कीर्तिमानी गोलमा लाओससँग बराबरी
अञ्जन विष्टले कीर्तिमानी गोल गरेपछि नेपालले लाओसलाई बराबरीमा रोकेको छ।
विश्वकप छनोटको प्रारम्भिक चरण अन्तर्गत बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलका हुन्। विष्टले कीर्तिमानी गोल गरेपछि नेपालले लाओसलाई बराबरीमा रोकेको हो।
योसँगै विष्टको १३ गोल पुगेको छ। यसअघि नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा हरि खड्का र निरञ्जन रायमाझी थिए। उनीहरूले १३-१३ गोल गरेका थिए। खड्का र रायमाझीसँगै विष्ट पनि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो। खेलको ३३औं मिनेटमा लाओसका कप्तान बौनान बौनकोङले गोल गरेका थिए।
त्यसपछि दोस्रो हाफको शुरूआतमै नेपालले बराबरी गरेको हो। खेलको ४९औं मिनेटमा विष्टले गोल गरेका थिए।
घरेलु मैदानमा बराबरी खेलको नेपालका लागि अर्को खेल जित्नुपर्ने दबाब हुनेछ। दोस्रो खेल कात्तिक ३० मा लाओसमा हुनेछ। अर्को खेलपछि अग्रस्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछ।