कांग्रेसका आठ प्रदेश सभा सदस्य इन्द्र आङ्बोको विपक्षमा
नेपाली कांग्रेसका आठ प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोलाई समर्थन नगरेको जनाएका छन्।
आङ्बोले कांग्रेसका सबै प्रदेश सभा सदस्य (४७ सांसद)को समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। त्यस लगत्तै कांग्रेसका आठ सांसदले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर आफूहरू केदार कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा रहेको जनाएका हुन्। कार्कीले पनि आफूलाई बहुमत सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
माओवादी सांसद आङ्बोले हस्ताक्षर दुरुपयोग गरेको उनीहरूको भनाइ छ। कार्की सहित कांग्रेस प्रदेश सभा सदस्यहरू रामकुमार खत्री, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनीता गुरुङ र लीलाकुमारी राईले आङ्बोलाई समर्थन नरहेको जानकारी दिएका हुन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा (एमाले) का ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्।
एमालेको समर्थनमा कांग्रेस सांसद कार्कीले पनि मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन्। उनले कांग्रेसका आठ र एमाले ३९ सांसदको हस्ताक्षर बुझाएका छन्।