प्रतिबन्धित औषधिमा अपराध
मानवीय उपचारमा अन्तिम आश मानिएको ‘कोलिस्टिन’ पशुपन्छीलाई खुवाउन नरोकिंदा तिनको मासु, अन्डा र दूध खाएका मानिस जटिल स्वास्थ्य संक्रमणमा त्यही ‘एन्टिबायोटिक’ले काम नगरेर मृत्युवरण गर्दै छन्।
तीन महीनाअघि ‘स्ट्रोक’ भएपछि काठमाडौंका एक व्यक्तिलाई तत्काल अस्पताल पुर्याइयो। भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइएका उनलाई त्यही क्रममा निमोनिया भयो। तीन दिनसम्म कडा मानिने ‘कार्बोपेनम’ समूहको एन्टिबायोटिक चलाउँदा पनि निको भएन।
चिकित्सकसँग अब एउटै विकल्प बाँकी थियो, ‘पोलिमिक्सिन बी’ वर्गको ‘कोलिस्टिन’ नामक एन्टिबायोटिक औषधि चलाउने। चिकित्सकहरूले ‘ब्रह्मास्त्र’ भन्ने गरेको र बिरामी जोगाउने अन्तिम अस्त्रका रूपमा प्रयोग गर्ने गरेको ‘कोलिस्टिन’ जत्तिको प्रभावकारी एन्टिबायोटिक चिकित्सा जगत्मा अर्को छैन। त्यसैले यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत ‘रिजर्भ’ सूचीमा राखेको छ।
तर, यी व्यक्तिलाई ‘कोलिस्टिन’ले पनि निको पार्न सकेन। ५१ वर्षीय उनको पाँच दिनपछि ज्यान गयो। यसको मुख्य कारण थियो, उनले यो एन्टिबायोटिक पहिल्यै पटक पटक उपभोग गर्नु र शरीरका जीवाणु त्यसलाई प्रतिरोध गर्न अभ्यस्त भइसक्नु।
चिकित्सकका अनुसार यो औषधि हामीले थाहा नपाईकन पनि भोजनका माध्यमबाट खाइरहेका हुन सक्छौं। उत्पादकहरूले पशुपन्छीलाई दानामा मिसाएर र प्रत्यक्ष रूपमै ‘कोलिस्टिन’ खुवाएका हुन सक्छन्। तिनका अन्डा, मासु, दूध आदि खाँदा हाम्रो शरीरमा पहिल्यै कोलिस्टिन प्रवेश गरिसकेको हुन सक्छ। अन्त्यमा तिनै व्यक्तिको जस्तो नियति भोग्न विवश हुन सक्छौं।
यही जोखिम नआओस् भनेर सरकारले पशुपन्छीमा ‘कोलिस्टिन सल्फेट’ को प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। २०७६ भदौ ३ मा औषधि व्यवस्था विभागको औषधि सल्लाहकार समितिको ५०औं बैठकले यो एन्टिबायोटिकको बिक्रीवितरण तथा आयात-निर्यात रोक्न सरकारलाई सिफारिश गरेको थियो।
लगत्तै विभागले सार्वजनिक सूचना जारी गरी कच्चा पदार्थ ल्याइसकेको भए ६ महीनाभित्र उत्पादन तथा बिक्रीवितरण गरिसक्न र विदेशी उत्पादन आयात गरिएको भए तीन महीनाभित्र मौज्दात रित्याइसक्न निर्देशन दिएको थियो।
तर, अहिले पनि ‘कोलिस्टिन सलफेट’ नेपाली बजारमा खुलेआम कारोबार भइरहेको पाइएको छ। प्रतिबन्धपछि पनि ‘जेनेरिक’ नाम कोलिस्टिन रहेको एन्टिबायोटिकका दुई ब्रान्ड कालोबजारी मार्फत नेपाल भित्रिइरहेका छन्।
हिमालखबरले देशका मुख्य शहरका भेटेरिनरी पसलबाट नमूनाका रूपमा कोली ४८०० (१०० ग्राम) र कोली ४८०० (एक हजार ग्राम) सङ्कलन गरेको छ। यीमध्ये १०० ग्रामको प्याकेटको मूल्य एक हजार र एक हजार ग्रामको मूल्य आठ हजार रुपैयाँ लिने गरिएको पाइएको छ।
हिमालखबरलाई प्राप्त ब्याच नम्बर २६२१११ को एक हजार ग्रामको उत्पादन मिति २०२३ जनवरी र अवधि सकिने मिति २०२६ जनवरी छ। २६२१०३ ब्याच नम्बर रहेको १०० ग्रामको उत्पादन र म्याद सकिने मिति पनि यही छ। यो एन्टिबायोटिक नेदरल्यान्ड्सको इन्टरकेमी बायोभेट हल्यान्ड नामक कम्पनीले उत्पादन गरेको त्यसमा उल्लेख छ।
खुलेआम बिक्री भइरहेको यही ‘जेनेरिक’को अर्को एन्टिबायोटिक हो, कोलिस्टिन ४८००। ब्याच नम्बर २१०६०१० रहेको यो एन्टिबायोटिकको उत्पादन मिति २०२१ जनवरी र म्याद सकिने मिति २०२४ जनवरी छ। प्रति १०० ग्रामको खुद्रा मूल्य एक हजार रुपैयाँ रहेको यो औषधिको उत्पादक नेदरल्यान्ड्सकै केप्रो बायोभेट रहेको खोलमा उल्लेख छ।
यी औषधि कतिपय भेटेरिनरी पसलले विना बिल बिक्री गर्छन् त कतिले बिल सहित दिन्छन्।
जनस्वास्थ्यमा गम्भीर खेलबाड
कृषकहरूले पशुपन्छीको तौल बढ्ने र तिनमा रोग सङ्क्रमण कम हुने ठानेर ‘कोलिस्टिन सल्फेट’ खुवाउने गरेका छन्। भेटेरिनरी पसल सञ्चालकहरूका अनुसार नेपालमा खासगरी कुखुराको तौल बढाउन यो औषधि प्रयोग हुने गर्छ र यसको देशव्यापी व्यापार करोडौंको छ।
जबकि डब्लूएचओले पशुपन्छीमा एन्टिबायोटिकको अनावश्यक प्रयोग कम गरेर मानवीय उपचारमा यसको प्रभावकारिता जोगाउनमा जोड दिंदै आएको छ। मान्छेमा गम्भीर हानि पुर्याउने जीवाणु विरुद्ध प्रयोग हुँदै आएको ‘कोलिस्टिन’ मा उसको विशेष चासो छ।
डब्लूएचओका अनुसार धेरै देशमा पशुपन्छीलाई दिइने एन्टिबायोटिकमध्ये ८० प्रतिशत चिकित्सकीय प्रयोगका दृष्टिले पनि महत्त्वपूर्ण छन्। यस्ता एन्टिबायोटिक प्रयोग गरिएका पशुपन्छीको मासु, अन्डा र दूध खाएका मानिसलाई बिरामी परेका बखत सोही ‘मोलिक्युल’ मार्फत बनेको एन्टिबायोटिक दिनुपरे काम गर्दैन। किनकि ती खानाका कारण शरीरमा हुने जीवाणुले उक्त औषधिलाई नै प्रतिरोध गरिदिने क्षमता बनाइसकेको हुन्छ। यस्तो स्थितिलाई एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर) भन्ने गरिएको छ।
मोलिकुलर माइक्रोबायोलोजिस्ट डा. गुणराज ढुंगाना एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण जीवाणुले आफ्नाे काेष संरचनामै परिवर्तन ल्याइदिने बताउँछन्। तब जीवाणुले एन्टिबायोटिकको मलिक्युल आफ्नो कोषभित्र छिर्नै दिंदैनन्, दिए पनि तत्काल बाहिर पठाइहाल्छन्। यो भनेको जीवाणुले जीन नै फेरिसकेको स्थिति हो। “हामी जसरी एकपछि अर्को एन्टिबायोटिक प्रयोग गर्छौं, ब्याक्टेरियाले त्यसरी नै एन्टिबायोटिक विरुद्ध लड्ने क्षमता विकास गर्दै जान्छ,” डा. ढुंगाना भन्छन्।
सङ्क्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी उपत्यकाका ठूल्ठूला अस्पतालको आईसीयूमा पुग्ने सङ्क्रमित बिरामीमध्ये करीब ८० प्रतिशतलाई अत्यन्त कडा एन्टिबायोटिकले काम गर्न छाडेको बताउँछन्। जबकि अन्य विकसित देशमा यस्ता बिरामीमध्ये १० देखि १५ प्रतिशतमा मात्र यस्तो समस्या छ। “कोलिस्टिनले काम नगर्नु भनेको महामारी बराबर हो, नेपालमा यस्तो किन भइरहेछ भन्नेमा गम्भीर अध्ययन हुनुपर्ने देखिन्छ। अन्यथा अझ धेरै मानिसको अकालमा ज्यान जान सक्छ,” उनी भन्छन्।
उनी उदाहरण सहित थप प्रस्ट्याउँछन्, “सर्जरी गरिएको बिरामीमा घाउबाटै सङ्क्रमण पनि हुन सक्छ। यस्तोमा सङ्क्रमणको उपचारमा प्रयोग गरिने एन्टिबायोटिकले काम नगरेर उसको मृत्यु हुन सक्छ। त्यस्तै, हृदयाघात भएका मानिसलाई भेन्टिलेटरबाट कृत्रिम श्वाप्रश्वास दिन ‘इन्टुवेट’ गर्दा निमोनियाको जोखिम रहन्छ। त्यहाँ पनि निमोनियाको उपचारमा प्रयोग गर्ने एन्टिबायोटिकले काम नगरे मृत्यु हुन्छ।”
ट्रपिकल मेडिसिन एन्ड इन्फेक्सस डिजिज जर्नलमा सन् २०२१ मार्चमा प्रकाशित लेख अनुसार काठमाडौं उपत्यकाका ३० वटा ठूला कुखुरा फार्ममा अध्ययन गर्दा २७ वटाले एन्टिबायोटिक अत्यधिक प्रयोग गरेको पाइएको छ। ६ वटा अर्थात् २२ प्रतिशतले एन्टिबायोटिकलाई उपचारका लागि र बाँकी २१ वटा अर्थात् ७८ प्रतिशतले नियमित खुवाउन उपयोग गर्दै आएका थिए। ती फार्ममा ६ वर्ग र सात प्रकारका एन्टिबायोटिक प्रयोगमा थिए जसमा सबैभन्दा बढी हिस्सा ‘कोलस्टिन’ र ‘टाइलोसिन’ (४७ प्रतिशतभन्दा बढी) को थियो। नियोमाइसिन र डक्सिसाइक्लिन जस्ता एन्टिबायोटिक पनि प्रयोग हुने गरेका थिए।
कृषि तथा पशु विज्ञान प्रतिष्ठानले सन् २०१८ मा चितवनका कुखुरा फार्ममा गरेको अध्ययनले पनि यस्तै देखाएको छ। त्यहाँ पखाला लगाउने जीवाणु ‘इ. कोली’ सङ्क्रमणको आशङ्का गरिएका ५० वटा ब्रोइलर चल्लालाई परीक्षण गर्दा ४७ वटा (९७ प्रतिशत)मा कम्तीमा तीन वटा जीवाणुले एन्टिबायोटिक प्रतिरोध क्षमता विकास गरेको भेटिएको थियो। प्रतिरोधी क्षमता सबैभन्दा धेरै विकास गरेका इ. कोली जीवाणुमध्ये २२ प्रतिशत जति पाँच प्रकारका एन्टिबायोटिकलाई निस्तेज पार्न सक्ने स्थितिमा थिए भने ९८ प्रतिशत एम्पिसिलिन, कट्रिमक्साजोल र डक्सिसाइक्लिनलाई जित्न सफल थिए।
इ. कोलीले कोलिस्टिन जस्ता कडा औषधि प्रतिरोधको क्षमता पनि आधाजसो विकास गरिसकेका थिए। चिकित्सकका अनुसार यो अवस्था कतिसम्म गम्भीर हो भने भविष्यमा झाडापखाला, निमोनिया, टाइफाइड जस्ता सामान्य सङ्क्रमणले पनि मानिसको ज्यान जान सक्छ।
पछिल्लो २० वर्षदेखि जीवाणु मार्ने नयाँ एन्टिबायोटिकको विकास हुन सकिरहेको छैन। यस्तोमा जीवाणुलाई प्रतिरोधी क्षमता बढाउने वातावरण दिइँदै गए सन् २०५० मा एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड हाराहारी पुग्ने डब्लूएचओको अनुमान छ। यसको चपेटामा नेपाल जस्ता विकासशील देश बढी पर्नेछन्।
धेरै देशले पशुपन्छीमा एन्टिबायोटिकको प्रयोग कम गर्ने कदम पहिले नै चालिसकेका छन्। भारत, जापान, मलेशिया, बाङ्लादेश, श्रीलंका, थाइल्यान्ड, इन्डोनेशिया, भियतनाम, सिंगापुर, अस्ट्रेलिया सहितले कोलिस्टिनको खुलेआम प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यूरोपेली संघले सन् २००६ मै पशुपन्छी व्यवसायमा एन्टिबायोटिक प्रयोगलाई रोक लगाएको छ।
कसले भित्र्याइरहेछ नेपालमा?
‘कोलिस्टिन सल्फेट’ बेच्दै आएका भेटेरिनरी पसल सञ्चालकहरू यो एन्टिबायोटिक उनीहरूलाई कसले उपलब्ध गराउँछ भन्नेबारे सकेसम्म मुख खोल्दैनन्। यद्यपि केहीले मुख्य गरी तीन सप्लायर्सको नाम लिएका छन्- भाटभटेनी भेट, कान्तिपुर भेट र बीगबी भेट डिस्ट्रिब्युटर्स।
२०७६ मा प्रतिबन्ध लाग्नुअघि भाटभटेनी नेपालमा ‘कोलिस्टिन ४८००’ को आधिकारिक विक्रेता थियो भने कान्तिपुर ‘कोली ४८००’ को। तर, यी कम्पनीले प्रतिबन्धपछि पनि यी औषधि आयात गरेको पाइएको थियो। २०७९ जेठ ४ मा परेको बेनामे उजुरीका आधारमा विभागले छापा मार्दा प्रतिबन्धित एन्टिबायोटिक भेटिएपछि गत माघ २५ मा तीनै कम्पनी निलम्बनमा परेका थिए।
विभागका तत्कालीन सूचना अधिकारी सन्तोष केसीका अनुसार बरामद औषधिको परिमाणका आधारमा भाटभटेनी भेटलाई चार महीना तथा कान्तिपुर र बिगबीलाई दुई-दुई महीना निलम्बन तोकिएको थियो।
पछि कान्तिपुर भेटले कारबाही कम गरिदिन भन्दै स्वास्थ्य मन्त्रालय गुहारेकोमा मन्त्रालयले सचिवस्तरीय निर्णयबाट उसको निलम्बन ३५ दिनमा झारिदियो। यो निर्णय गर्दा स्वास्थ्य सचिव रोशन पोखरेल थिए। कान्तिपुर भेटले आर्थिक प्रलोभनमा पारेर कारबाही घटाएको विभागका एक अधिकारी दाबी गर्छन्। “मानव स्वास्थ्यमा गम्भीर क्षति पुर्याउने औषधिको कारोबार गर्नेलाई कारबाही घटाउन उनलाई केले बाध्य पार्यो भन्ने प्रस्ट छ,” उनी भन्छन्।
पोखरेल भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको सिफारिशमा निलम्बन घटाइदिएको बताउँछन्। उनले कुन कानूनमा टेकेर यस्तो काम गरे त? जवाफ यस्तो छ, “उजुरीको प्रकृति हेरेर कारबाही घटाइदिने अधिकार सचिवलाई हुन्छ।”
औषधि ऐन, २०३५ को दफा २५ मा नेपाल सरकारले रोक लगाएका औषधिको उत्पादन र बिक्रीवितरण गर्नेलाई तीन वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
विभागका ती अधिकारी डिस्ट्रिब्युटरहरूको राजनीतिक र व्यापारिक पहुँचका आधारमा सजाय कम गरिएको दाबी गर्छन्। कान्तिपुर भेटका सञ्चालक ऋषि बडाल एमाले नेता तथा पूर्व मन्त्री केशव बडालका भतिजा हुन्। त्यस्तै, भाटभटेनी भेटका सञ्चालक युवराज गुरुङ भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङका भाइ हुन्।
यतिसम्म कि विभागले २०७९ असार १० गते छापा मारिसकेपछि पनि भाटभटेनी भेटले कोलस्टिन ल्याएको देखिन्छ। २०७९ असार २३ गते १०० ग्रामको १६८० प्रति र एक हजार ग्रामको २२८ प्रति ल्याएको देखिन्छ। त्यस्तै, पुस ८ गते १०० ग्रामको कोलिस्टिन एक हजार ८० प्रति ल्याएको भन्सार विभागको तथ्याङ्कमै देखिन्छ।
कम्पनीले सोही मितिमा एक हजार ग्रामको कोलिस्टिन पनि ५०४ प्रति ल्याएको छ। उक्त तथ्याङ्क केलाउँदा भाटभटेनी भेटले प्रति १०० ग्रामको ३९४ रुपैयाँ र एक हजार ग्रामको दुई हजार ९२८ रुपैयाँमा किनेर उपभोक्तालाई तीन गुनासम्म महँगोमा बेचेको देखिन्छ।
यद्यपि यी तीनै कम्पनीका सञ्चालक कारबाहीपछि प्रतिबन्धित एन्टिबायोटिक आयात नगरेको दाबी गर्छन्। “गत माघमा डीडीएले निलम्बन गर्नुअघि ल्याएको हो, त्यसपछि ल्याएका छैनौं,” भाटभटेनी भेटका गुरुङ भन्छन्।
कान्तिपुर भेटका बडाल पनि आफूले पछिल्लो समय यी औषधि नल्याएको भन्दै बजारमा कसरी आइपुग्यो, थाहा नभएको प्रतिक्रिया दिन्छन्।
एक भेटेरिनरी औषधि उत्पादक भने पहिलेका आधिकारिक विक्रेता भएका नाताले अहिले पनि यिनै कम्पनीले कोलिस्टिन ल्याएको दाबी गर्छन्। तर, अहिले प्रत्यक्ष कारोबार नदेखाई अर्को औषधिका नाममा ‘बिलिङ’ गर्ने गरिएको उनको भनाइ छ। “ठूलो रकमको व्यापार भएकाले विक्रेताले डीडीए, मन्त्रालय सबैलाई प्रभावमा पारेर बेचिरहेछन्,” उनी भन्छन्।
यी एन्टिबायोटिकमा उत्पादक भनी लेखिएका दुवै डच कम्पनी यूरोपियन कमिशनमा दर्ता छैनन्। अर्थात् यी औषधि यूरोपियन युनियनका देशमा बिक्रीवितरण हुँदैनन्।
लामो समयदेखि औषधि व्यवसायमा संलग्न एक जानकारका अनुसार यी एन्टिबायोटिक चीनमा उत्पादन हुने र तिनैलाई नेदरल्यान्ड्समा उत्पादन भएको उल्लेख गरेर नियामक निकाय कमजोर रहेका नेपाल, पाकिस्तान, अफ्रिकी आदि मुलुकमा पठाइन्छ। नेपालको औषधि व्यवस्था विभागले विकसित मानिएका नेदरल्यान्ड्स सहितका देशमा उत्पादित औषधिलाई (स्ट्रिनजेन्ट रेगुलेटरी कन्ट्रीका नाताले) विना निरीक्षण दर्ता गरिदिने गरेको छ। चीनको छेन्दु छिनहेङ फर्मास्युटिकल्स कम्पनीले नेदरल्यान्ड्सको केप्रो भेटलाई औषधि पठाएको बिल हिमालखबरले प्राप्त गरेको छ।
ऐनले औषधिको नियमन र बजार अनुगमनको जिम्मा औषधि व्यवस्था विभागलाई तोकेको छ। तर, विभागका अधिकांश अनुगमन कर्मकाण्डी मात्रै हुने गरेका छन्। विभागका प्रवक्ता प्रमोद केसी अहिले पनि अनुगमन जारी रहेको दाबी गर्छन्। तर, बजारमा प्रतिबन्धित एन्टिबायोटिक छ्यापछ्याप्ती रहेकोबारे अनभिज्ञता दर्शाउने उनका लागि उजुरी नपर्नु झारा टार्ने बहाना बनिदिएको छ। भन्छन्, “यस विषयमा पछिल्लो समय उजुरी परेको छैन, विभागको अनुगमनमा त्यस्तो औषधि भेटिएको पनि छैन।”
महानिर्देशक डा. नारायण ढकाल पनि बजारमा कोलिस्टिन बिक्रीवितरण भइरहेको कुरा थाहा नभएको बताउँछन्। भन्छन्, “त्यसो हो भने फेरि छापा मार्न तयार छौं, दोषी भेटिए कारबाही गर्छौं।”
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)