कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोको दाबी पेश
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन्।
गठबन्धनको समर्थनमा आङ्बोले बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरेका हुन्। उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन जनाएका छन्।
कोशी प्रदेश सभामा कांग्रेसका ३९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्रीमा आङ्बोले दाबी पेश गर्दा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका नेता राजेन्द्र राई लगायत नेताहरू उपस्थित थिए।
यसअघि काठमाडौंमा बसेको सात दलको बैठकले मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै उनले दाबी पेश गरेका हुन्।
त्यस्तै, कांग्रेस सांसद केदार कार्कीले पनि मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। उनले कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदको हस्ताक्षर बुझाएका छन्।