सिक्किम प्रकोपको नेपाललाई चेतावनी
गत साता टिस्टा जलाधार क्षेत्रमा हिमताल फुट्दा उत्पन्न प्रकोप हिमाली पूर्वाधारमा जलवायु परिवर्तनले निम्त्याएको खतराको सङ्केत हो।
भारतको सिक्किम राज्यमा असोज १७ गते आएको विनाशकारी बाढी हिमाली नदीमा अनियन्त्रित, योजनाविहीन र कमजोर इन्जिनीयरिङ सहित बनाइएका पूर्वाधारहरू कसरी जलवायु परिवर्तन र मौसमी प्रकोपको जोखिममा हुन्छन् भन्ने चेतावनी हो। भारत, नेपाल र चीनको त्रिदेशीय भूभाग नजिक कञ्चनजंघा क्षेत्रमा मुसलधारे पानी पर्यो र यसले गर्दा दक्षिण ल्होनाक हिमताल फुट्यो। लेदो सहितको पानीले चुङथाङ बाँध भत्कायो, जसले टिस्टा नदीको विनाशकारी बाढी सिक्किम, पश्चिम बंगाल हुँदै बाङ्लादेशसम्म पुग्यो।
बाढीका कारण अहिलेसम्म करीब ४८ जनाको ज्यान गएको छ भने सयभन्दा बढी हराइरहेका छन्। सिक्किमका अन्य जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ। पुलहरू बगेका छन्। सडकहरू भत्किएका छन्।
टिस्टाको सहायक नदीबाट आएको बाढीले जलवायु परिवर्तनका कारण हिमालहरू पग्लिएर हिमताल फुट्दा सिर्जित बाढी (जीएलओएफ) कुन हदसम्म ध्वंसात्मक हुन सक्छ भन्ने देखाइदिएको छ। यी हिमालहरू पृथ्वीको औसत तापमानभन्दा ०.७ डिग्री सेल्सियस छिटो तातिरहेका छन्, जसले गर्दा हिमनदीहरू पग्लेर तालमा परिणत भएका छन्। परिणामस्वरूप गेग्रानले पानीको बाटो रोकेर तालहरू बनिरहेका छन्। यस्ता ताललाई ‘प्रोग्लेसियल लेक’ भनिन्छ।
गत दशकमा बनेका २०० वटा जति नयाँ प्रोग्लेसियल तालहरू अधिकांश पूर्वी नेपाल, भारत, भूटान र दक्षिणी तिब्बतमा छन्। हिमतालविज्ञले तीमध्ये कम्तीमा ४० वटा ताल जोखिमपूर्ण अवस्थामा रहेको ठम्याएका छन्। अति धेरै पानी सङ्कलन भएर वा हिमपहिरोको कारण कुनै पनि वेला गेग्रानको बाँध नाघ्ने स्थितिमा ती ताल छन्। थुप्रै नयाँ तालहरू बनेका छन् जसका नाम छैनन्, तर नम्बरका नाम छन्।
सन् २०२१ मा साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित ‘फ्युचर ग्लेसियल लेक आउटब्रर्स्ट फ्लड हाजार्ड अफ् द साउद ल्होनाक लेक, सिक्किम हिमालय’ मा भारतीय हिमतालविज्ञ असीम सत्तारले असोज १७ गतेको बाढीबारे ठोकुवा गरेरै भविष्यवाणी गरेका थिए। त्यसमा खस्न सक्ने हिमपहिरोले ताल फुट्न सक्ने चेतावनी दिइएको थियो। शोधपत्र तयार गर्ने समूहले तालको आयतन ११ करोड ५० लाख घनमिटर भएको पत्ता लगाएको थियो।
शोधपत्रमा ‘एकदमै गतिशील उच्च-हिमाली पर्यावरणमा यो विशाल ताल रहेका कारण हिमताल फुट्दा सिर्जित बाढीको व्यवस्थापनका लागि दक्षिण ल्होनाक हिमताललाई प्राथमिकतामा राख्नुपर्ने भएको छ’ भनेर चेतावनी दिइएको थियो। साथै लेखिएको थियो- ‘हाम्रो निष्कर्षले के देखाउँछ भने भिरालो सतहतिर तालको फैलावट भएका कारण जीएलओएफको जोखिम बढ्नेछ, ती क्षेत्रहरू हिमपहिरोको जोखिममा छन्।’
असोज १७ को बाढीले एक हजार २०० मेगावाटको चुङथाङ टिस्टा तेस्रो जलविद्युत् परियोजना बगाएको छ। परियोजनामा ६० मिटर अग्लो कंक्रिट र ढुङ्गाको बाँध, सुरुङ र भूमिगत विद्युत् उत्पादनगृह थियो। एक अर्ब ७० करोड अमेरिकी डलरको लागतमा परियोजना निर्माण भएको थियो।
सिक्किमले जलविद्युत् क्षेत्रमा प्रशस्त लगानी गरेको छ। टिस्टा र कञ्चनजंघा हिमालबाट बग्ने यसका सहायक नदीहरूमा ३५ भन्दा बढी जलविद्युत् परियोजना सञ्चालनमा छन्। कञ्चनजंघाबाट नेपालतर्फ बहने नदीमा बनेका पूर्वाधारमा क्षति पुगेको कुनै समाचार छैन।
तमोर, अरुण, काबेली र अन्य नदीहरूमा प्रशस्त जलविद्युत् परियोजना सञ्चालन र निर्माणाधीन छन्। गत असार १ गते मनसुनको शुरूआततिर मुसलधारे पानी पर्दा ताप्लेजुङ, पाँचथर र संखुवासभामा ४० जनाले ज्यान गुमाएका थिए भने जलविद्युत् परियोजनाहरूमा क्षति पुगेको थियो।
त्यसो त अहिले सिक्किममा आए जस्तै बाढी २०७८ सालमा मेलम्चीमा आएको थियो। हिमनदीबाट आउने मेलम्ची नदीको पानी २६.५ किलोमिटर सुरुङ खनेर काठमाडौं ल्याइएको छ। ८० करोड अमेरिकी डलर बराबरको लगानी भएको परियोजनाको मुख्य हिस्सालाई बाढीले क्षति पुर्यायो। धन्न सुरुङ बच्यो र अहिलेसम्म पनि परियोजना पूर्ण सञ्चालनमा आउन सकेको छैन।
सन् २०१५ मा तिब्बतमा हिमताल फुट्दा आएको लेदो सहितको बाढीले सिन्धुपाल्चोक जिल्लामा रहेको ४४ मेगावाटको भोटेकोशी जलविद्युत् परियोजनामा क्षति पुर्याएको थियो। त्यति वेला जुरे पहिरोले क्षतिग्रस्त परियोजनाको भर्खरै पुनर्निर्माण सकिएको थियो। २०७२ सालमा आएको भूकम्प र पछि तिब्बतबाट हिमताल फुटेर आएको बाढीले फेरि क्षति पुर्यायो। त्यस्तै, सन् २०२२ मा ठूलो मात्रामा पानी पर्दा मध्य नेपालका निर्माणाधीन जलविद्युत् परियोजनामा क्षति पुगेको थियो।
मध्य र पूर्वी नेपालमा प्रशस्त हिमतालहरू छन्, जस्तै- हिमचुलीमा ठूलागी हिमताल, रोल्वालिङमा च्छो रोल्पा र खुम्बुमा इम्जा। ती हिमतालहरू दक्षिण ल्होनाक जस्तै खतरनाक छन् किनभने त्यसको तल्लो तटमा जलविद्युत्, राजमार्गहरू र बस्तीहरू छन्। साथै चीनतर्फको तिब्बतमा पनि दर्जनौं हिमताल छन् जसका नदीहरू सीमा पार गरेर नेपालसम्म आइपुग्छन्। तिनले पनि उच्च जोखिम सिर्जना गरेका छन्।
च्छो रोल्पा र इम्जामा गेग्रानको थुप्रोमा ससाना निकासहरू खोलेर पानीको सतह घटाइएको छ। तर यस्ता संरचना महँगा हुन्छन्। यस्तो जोखिमयुक्त ताल त प्रशस्त छन्। लाङटाङ हिमतालको पानीको सतह घटाएर जलविद्युत् निकालिएको छ। यो नेपालमै पहिलो अभ्यास हो।
सन् २०३५ मा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य नेपालले राखिरहँदा सिक्किमले दिएको चेतावनी स्पष्ट छः जोखिम घटाऊ र सम्भावित क्षतिका लागि तयार होऊ।
(यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)