कोशीमा इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सात दलको निर्णय
सत्तारूढ गठबन्धनले कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनमा सहभागी र समर्थक सात दलको बैठकले आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको हो। सातको दलको निर्णयमा भनिएको छ, ‘कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरियो।’
बैठकपछि सातै दलले निर्णयबारे प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्। विज्ञप्तिमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। यस उपधारा अनुसार प्रदेश सभाका कुनै पनि सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सक्छन्। दाबी पेश गर्ने सांसदले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
अहिले आङ्बोलाई समर्थन गर्ने निर्णय गरेका सात दलसँग स्पष्ट बहुमत छ। कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।