रिगल विरुद्धको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी कात्तिक १४ मा
बाँकेका रिगल ढकालको कैद मिनाहा विरुद्ध परेको रिटमाथि बिहीबार आधा दिन बहस भएपछि न्यायाधीशहरूले ‘हेर्न नमिल्ने’ मा राखेका छन्।
यो रिटमाथि बिहीबार न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइमा तीन जनाको बहस सुनेपछि न्यायाधीशरूले हेर्न नमिल्ने भनेका हुन्।
रिट निवेदक भारती शेर्पाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानले हेर्न नमिल्नेमा परेको बताए। यसअघि पनि यस्तै प्रकारका मुद्दामा आदेश दिइसकेकाले उस्तै प्रकृतिको अर्को मुद्दा हेर्न नमिल्ने न्यायाधीशहरूले सुनाएका थिए।
त्यसपछि यो मुद्दामा थप बहस हुन सकेन। पूर्ण इजलासले अर्को पेशी कात्तिक १४ गते तोकेको वरिष्ठ अधिवक्ता नेउपानेले बताए।
नेपाली कांग्रेसका कार्यकर्ता रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतन मानन्धरको हत्या गरेका थिए। रिगलको समूहले मानन्धरलाई खुँडा प्रहार गरेको थियो।
जिल्ला अदालत, बाँकेले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गरेको थियो। न्यायाधीश विष्णु सुवेदीको इजलासले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। हत्यामा संलग्न अन्य १२ जनालाई पनि कैद सजाय सुनाइएको थियो।
उनै रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए। त्यस विरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट दिएकी थिइन्।