सन्दीप लामिछाने विरुद्धको मुद्दामा दशैंपछि मात्रै सुनुवाइ
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिका बलात्कारको मुद्दा गत सात महीनामा ३० पटक पेशी चढे पनि टुङ्गोमा पुग्न सकेको छैन भने पटक पटक स्थगन हुँदै आएको छ।
सर्वोच्च अदालतले शीघ्र सुनुवाइको व्यवस्था गर्नू भन्ने आदेश दिए पनि जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिका बलात्कारको मुद्दामा पूर्ण सुनुवाइ नै थालेको छैन। बिहीबार पेशी तोकिए पनि न्यायाधीश बिदामा भएको कारण देखाउँदै अदालतले ‘स्थगन’ गरेको छ।
जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज नौ जना न्यायाधीश अनुपस्थित थिए। तीन जना बिदामा र ६ जना सरुवा भएर हाजिर हुन बाँकी छन्। जिल्ला अदालतका ३० मध्ये २१ फाँटमा मात्रै इजलास बसेको छ। “गोला तान्दा इजलास बस्ने फाँटका न्यायाधीशको बेन्चमा नपरेकाले ‘स्थगन’ भएको हो,” दाहालले हिमालखबरसँग भने।
न्यायाधीशको अनुपस्थितिका कारण सन्दीपको मुद्दाको स्थगन भएको यो तेस्रो पटक हो। यसअघि असोज १ र ६ गते पनि न्यायाधीश अभावकै कारण मुद्दाको स्थगन भएको थियो। घटस्थापनादेखि अदालत बन्द हुने भएकाले अब दशैंपछि मात्रै सुनुवाइ हुनेछ। यस वर्ष असोज २८ मा घटस्थापना छ।
सर्वोच्च अदालतले २०७९ फागुन १५ गते नै गम्भीर प्रकृतिको मुद्दा भन्दै निरन्तर सुनुवाइमा राखेर शीघ्र निर्णय गर्न आदेश दिएको थियो। तर सात महीनासम्म मुद्दाको पूर्ण सुनुवाइ नै शुरू हुन सकेको छैन।
त्यस्तै, सर्वोच्चले अदालतले डेढ दशकअघि नै बलात्कारका मुद्दालाई ‘फास्ट ट्र्याक’ इजलास गठन गरेर फैसला गर्नुपर्ने आदेश दिएको थियो। तर ‘हाइप्रोफाइल’ व्यक्ति आरोपित भएको यो मुद्दाको सुनुवाइ गर्न न्यायाधीशहरूले आलटाल गरिरहेका छन्।
२०७९ भदौमा सन्दीप विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।
यो मुद्दा ३० पटक पेशी चढे पनि फैसला भने आएको छैन। प्रमाण बुझ्ने लगायत सबै अङ्ग पुगे पनि अदालतले मुद्दा सुनुवाइमा जाँगर चलाएको छैन।
यो पनि पढ्नुहोस्: सन्दीप विरुद्धको मुद्दा: प्रमाण बुझ्ने आदेश दिन्छ, मुद्दा छिन्दैन