देव खनालको शतकमा नेपालको फराकिलो जित
एसीसी पुरुष यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ।
मलेशियामा बिहीबार भएको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले पराजित गरेको हो। नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याउने क्रममा इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो।
इरानका लागि अमिर खोर्सन्दले ३७ र सबेर इब्राहिमिपउरले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। नेपालका लागि सुवास भण्डारी र दीपक कँडेलले तीन-तीन तथा हेमन्त धामी र आकाश चन्दले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले ६० बलमा १०० रन बनाएका थिए। उनले १२ चौका र चार छक्का प्रहार गरे।
त्यस्तै, दीपक डुम्रेले ६९, दीपक बोहराले ६५, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रन बनाएका थिए।
नेपालले दोस्रो खेलमा असोज २८ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।