एमालेको विश्लेषण: मधेशमा कांग्रेस मुख्य प्रतिस्पर्धी
नेकपा (एमाले)ले मधेश प्रदेशमा आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको विश्लेषण गरेको छ।
एमालेको पहिलो मधेश प्रदेश अधिवेशनमा प्रस्तुत अध्यक्षको प्रतिवेदनमा यस्तो विश्लेषण गरिएको छ। प्रदेश अध्यक्ष रामऔतार यादवले प्रस्तुत गरेको प्रतिवेदनमा विभिन्न दलबारे विवेचना गरिएको छ।
प्रतिवेदनमा मुख्य प्रतिस्पर्धी दलका रूपमा कांग्रेस रहेकाले सोही अनुसारको तयारी गर्नुपर्ने औंल्याइएको छ। ‘नेपाली कांग्रेसको दलाल पूँजीवादी वर्गचरित्र, नवउदारवादी पूँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी पनि हो।’
प्रतिवेदनमा मधेश केन्द्रित दलको कार्यलाई राष्ट्रियतामा असर पुर्याउने गतिविधिका रूपमा औंल्याइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘मधेश केन्द्रित दलका सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति असहमति छ।”
त्यस्तै, देशभर भइरहेका विभिन्न धार्मिक गतिविधि र द्वन्द्व राजतन्त्र फर्काउने हतियारका रूपमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाइएको छ। ‘कतिपय दलहरू राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्,’ एमालेले राप्रपाको नाम नलिई भनेको छ।
प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र)लाई अवसरवादी पार्टीका रूपमा चित्रण गरिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको औंल्याउँदै त्यसपछि विमति रहेको एमालेको भनाइ छ।
विभिन्न पार्टीको विश्लेषण गरिएको भए पनि कुनै पनि शक्तिलाई शत्रुका रूपमा उभ्याउने नहुने एमालेको निचोड छ। ‘राष्ट्रिय पार्टी बन्न नसकेका कतिपय क्षेत्रीय र जातिवादी पार्टीहरू पनि अस्तित्वमा रहेका छन् तर हाल राजनीतिक रूपमा क्रियाशील कुनै पनि दलसँगको हाम्रो अन्तरविरोध/प्रधानअन्तरविरोध होइन,’ प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा भूमिका खेलेका साथै विभिन्न मुद्दामा सहकार्य र प्रतिस्पर्धाको अवस्था विद्यमान रहेको हुनाले कुनै पनि दलविशेषलाई प्रधानशत्रु घोषणा गर्नु कम्युनिस्ट आन्दोलनमा अतिवादी गल्ती हुन जानेछ।’
प्रतिवेदनमा एमालेप्रति पछिल्लो समय आकर्षण बढेको दाबी गरिएको छ। अपार सम्भावनाको चाङमाथि उभिएको एमाले जनताले पत्याएको पहिलो पार्टी भएकाले जनताको व्यापक आकर्षण बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्यक्षमा चार जना आकांक्षी
मधेश प्रदेश कमिटीको नेतृत्वका लागि चार जनाले आकांक्षा देखाएका छन्। सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल र बिचारी यादव तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन्।
एमाले केन्द्रीय नेतृत्वले भने सहमति गर्न निर्देशन दिएको छ। त्यही अनुसार एमाले नेताहरू सहमतिका लागि प्रयास गरिरहेका छन्।