डोरबहादुर विष्ट सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने
मानवशास्त्री डोरबहादुर विष्टको जीवन र कृतिमाथि बनेको वृत्तचित्र कास्ट अवे म्यान पोर्चुगलमा प्रदर्शन गरिने भएको छ।
केसाङ छेतेनद्वारा निर्देशित वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो। १६ अक्टोबरमा वृत्तचित्र प्रदर्शनीसँगै मानवशास्त्री विष्टको योगदानका विषयमा अन्तरक्रिया हुने महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए।
अन्तरक्रियामा लेखक वसन्त थापा र निर्देशक छेतेन सहभागी हुनेछन्। मेसेडोनियामा आयोजना गरिने चलचित्र महोत्सवमा सहभागी हुन थापा र छेतेन यूरोप पुगेका छन्।
मानवशास्त्री विष्ट जुम्लाको चौधबिसामा कर्णाली इन्स्टिच्यूट स्थापना गरेर सामाजिक सेवामा पनि संलग्न थिए। २८ वर्षअघि जुम्लाबाट काठमाडौं फर्कने योजनामा रहेका विष्ट अहिलेसम्म बेखबर छन्।