एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी चयन भएका छन्।
एमाले प्रदेश अधिवेशनबाट जैसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। अध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षमा मनोनयन दर्ता गरेका वचनबहादुर सिंह, कमल तिमिल्सिना र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत बनेका हुन्।
त्यस्तै, उपाध्यक्षमा कालीबहादुर शाही र सचिवमा रणबहादुर चन्द चयन भएका छन्। उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ।
एमालेको १५९ सदस्यीय प्रदेश कमिटी नै सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ। प्रदेश सदस्यको विवरण रुजु गर्ने प्रक्रियामा रहेको जनाइएको छ।