रोहित शर्माले कीर्तिमानी पारी खेलेपछि भारत विजयी, अङ्कतालिकामा दोस्रो स्थानमा
जारी एकदिवसीय विश्वकप प्रतियोगितामा आयोजक राष्ट्र भारतले अफगानिस्तान विरुद्ध फराकिलो जित हात पारेको छ।
गएराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७२ रन बनाएको थियो। यस क्रममा अफगानिस्तानको माथिल्लो क्रमका ब्याटर त्यति चलेका थिएनन्। मध्य क्रमका हश्मतुल्लाह शाहिदी र अज्मतुल्लाह ओमारजाईले क्रमशः ८० र ६२ रनको पारी खेलेपछि अफगानी पारी सम्हालिएको थियो।
बलिङतर्फ भारतका जसप्रित बुमराहले चार तथा हार्दिक पाण्ड्याले दुई विकेट लिएका थिए। यस्तै, शार्दूल ठाकुर र कुलदीप यादवले समान एक विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले ३५ ओभरमै दुई विकेटको क्षतिमा २७३ रन बनायो। ९० बल बाँकी छँदै भारतले आठ विकेटले खेल जित्यो।
भारतको जितमा कप्तान रोहित शर्माले शतकीय पारी खेले। उनले ८४ बलमा १३१ रन बनाएका थिए। उनले १६ चौका र पाँच छक्का प्रहार गर्दै केही कीर्तिमान पनि बनाए।
रोहितले बनाएको पहिलो कीर्तिमान हो- अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने। उनले वेस्ट इन्डिजका प्रसिद्ध खेलाडी क्रिस गेलको ५५३ छक्काको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा ५५६ छक्का प्रहार गरेका छन्।
यस्तै, रोहित शर्मा अब पुरुष एकदिवसीय विश्वकपमा सर्वाधिक शतक बनाउने खेलाडी पनि बनेका छन्। उनी सचिन तेन्दुलकरको ६ शतकको कीर्तिमान भङ्ग गर्दै १९ पारीमा सात शतक बनाउँदै शीर्ष स्थानमा उक्लिएका छन्। पुरुष एकदिवसीयमा सर्वाधिक शतक बनाउने खेलाडीमा पनि उनी अस्ट्रेलियाका दिग्गज रिकी पोन्टिङलाई पछि पार्दै भारतकै सचिन तेन्दुलकर र विराट कोहलीपछि तेस्रो स्थानमा पुगेका छन्।
हिजोकै खेलमा रोहितले एकदिवसीय विश्वकपमा सबैभन्दा कम पारीमा एक हजार रन बनाउने कीर्तिमान पनि अस्ट्रेलियाका डेभिड वार्नरसँग बराबरी गरे। दुवैले समान १९ पारीमा एक हजार रन बनाएका छन्।
अफगानिस्तान विरुद्धको फराकिलो जितसँगै भारत अहिले अङ्कतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। दुई खेलमा दुई जित सहित समान चार अङ्क बटुलेको भए पनि नेट रनरेटका आधारमा न्यूजिल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्।
आज अस्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिका
आज विश्वकपमा अस्ट्रेलिया र दक्षिण अफ्रिका आपसमा भिड्दै छन्। यी दुईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो २:१५ बाट शुरू हुनेछ।
एकदिवसीय विश्वकप इतिहासमा यी दुई टोली ६ पटक भिडेका छन्। जसमध्ये तीन खेल अस्ट्रेलियाले जितेको छ भने दुई दक्षिण अफ्रिकाले। एक खेल नतीजाविहीन भएको छ।