कात्तिक पहिलो साता त्रिदेशीय टी-२० शृङ्खला हुने
नेपाल क्रिकेट संघले कात्तिक पहिलो साता त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्ने भएको छ।
आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा संघले त्रिदेशीय शृङ्खला आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगितामा नेपालसँगै यूएई र हङकङ सहभागी हुनेछन्।
एक सातासम्म चल्ने प्रतियोगितामा सात वटा खेल हुनेछन्। जसमा ६ खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
पहिलो खेलमा कात्तिक १ गते नेपाल र यूएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।
कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र यूएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र यूएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।
त्यस लगत्तै कात्तिक १३ बाट टी-२० विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।