स्वास्थ्य मन्त्री बस्नेतको अभिव्यक्तिमा डा. केसीको आपत्ति
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ‘नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन्, विदेश जानुपर्यो’ भन्ने अभिव्यक्ति भ्रामक रहेको बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै डा. केसीले सच्याउन आग्रह गरेका छन्। स्वास्थ्य मन्त्री बस्नेतले मंगलबार एक कार्यक्रममा स्वास्थ्य जनशक्ति उत्पादन कम भएको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका थिए।
त्यसको भोलिपल्ट डा. केसीले विज्ञप्ति जारी गर्दै ऐन लागू भएपछि मेडिकल शिक्षाका लागि विदेश जाने संख्या गुणात्मक रूपमा घटेको उल्लेख गरेका छन्। मेडिकल कलेजमा सशुल्क पढ्नेहरूका लागि तोकिएको सीट खाली रहेको उनले खुलाएका छन्।
चिकित्सा शिक्षा ऐन अमुक नेताको हुकुम वा इच्छामा नभई चिकित्सा शिक्षाविद्हरूको महीनौंको अध्ययन तथा अनुसन्धानबाट तयार भएको केसीको भनाइ छ। यसले कुनै शिक्षालयलाई आउन नरोकेको भन्दै डा. केसीले भनेका छन्, ‘ऐन अनुसार मापदण्ड पूरा गरेर सञ्चालन गरे हामीलाई कुनै आपत्ति छैन।’
तीन–चार दशकदेखि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र नथपिएको र भएकामा पनि दरबन्दी नबढ्दा डाक्टर-नर्स लगायत स्वास्थ्य जनशक्ति बेरोजगार रहेको उनले बताएका छन्। “स्वास्थ्य मन्त्रीको हैसियतले यस्ता समस्या सम्बोधन गर्नुपर्ने थियो,” केसीले भनेका छन्, “मापदण्ड नपुगेका र नियम कानून मिच्ने निजी शिक्षालयलाई कारबाही गर्ने कदम चाल्नुको साटो उल्टै उनीहरूको वकालत गर्दै हिंड्नु निन्दनीय काम हो।’