इजरायलबाट विद्यार्थी ल्याउन परराष्ट्र मन्त्रीलाई पठाउने सरकारको निर्णय
सरकारले इजरायलबाट नेपाली विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउन परराष्ट्र मन्त्री एनपी साउदलाई पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री साउदलाई पठाउने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताए। “आज राति जाने जहाजमा परराष्ट्र मन्त्री पनि जाने र नेपालीलाई ल्याउने निर्णय भएको छ,” मन्त्री गुरुङले भने।
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन नेपाल एअरलाइन्सजको जहाज आज राति ११ बजे त्यसतर्फ जाँदै छ। त्यही जहाजमा परराष्ट्र मन्त्री साउद पनि जाने भएका हुन्।
यससँगै इजरायलबाट फर्किने चाहने नेपाली आफैं आएमा जहाजको भाडा सरकारले बेहोर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। आवश्यक परेमा नेपालबाटै चार्टर्ड जहाज पनि पठाइने भएको छ।
इजरायलमा ज्यान गएका नेपाली विद्यार्थीको शव ल्याउने प्रक्रिया चलिरहेको छ। इजरायल सरकारले सबै प्रक्रिया पुर्याएर आफैं शव पठाउने जानकारी आएको जनाइएको छ।
हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ। त्यस्तै, चार जना विद्यार्थी घाइते भएका थिए। उनीहरूमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् भने दुई जनाको उपचार चलिरहेको छ।