किन मन्द छ कम्युनिस्ट आन्दोलनको गति?
पटक पटकका आर्थिक मन्दीमा सर्पले जसरी काँचुली फेरेर पूँजीवाद तङ्ग्रिए जस्तै साम्यवादीहरूले पनि युगसुहाउँदो कार्यदिशा बनाएर जनवादी क्रान्ति निर्धारण गर्न जरुरी देखिन्छ तर मार्क्सवादलाई तोडमोड नगरीकन।
विश्वमा १९औं शताब्दीको आरम्भदेखि ठूलाठूला क्रान्ति भए। तिनका जग थिए, सन् १७८९ को फ्रान्सेली क्रान्ति तथा सन् १८८१ को पेरिस कम्युन। फ्रान्सेली क्रान्तिले उठाएको स्वतन्त्रता, समानता र भ्रातृत्वको मुद्दाले विश्वजगत्मा जागरण ल्याएको थियो। पेरिस कम्युनले पनि मजदूर-किसानको राज्यसत्ता स्थापना गरेको थियो।
तर मार्क्सकालीन पेरिस कम्युन लामो समय टिकेन। यसबारे गहिरो अध्ययनपछि भीआई लेनिनले रूसी कम्युनिस्ट आन्दोलनको नयाँ कार्यदिशा बनाए जसको आधारभूत मान्यता बल प्रयोग अर्थात् सशस्त्र विद्रोह थियो। लेनिनकै नेतृत्वमा रूसमा २ नोभेम्बर १९१७ मा क्रान्ति सम्पन्न भयो। क्रान्तिले शान्ति अनि जनताका न्यूनतम आधारभूत आवश्यकता रोटी र भूमिको सुनिश्चयलाई जोड दिएको थियो।
प्रथम विश्वयुद्धको त्यो समयमा कम्युनिस्ट पार्टी सहजै रूसी सत्ताको नेतृत्वमा आइपुगेको होइन। पेरिस कम्युनपछि पूँजीवाद मान्नेहरू साम्यवादी विचार रोक्न अनेक प्रयत्न गरिरहेकै थिए। लेनिनको बुद्धिमत्तापूर्ण निर्णय र नेतृत्वकै कारण विश्वमै पहिलो पटक समाजवादी क्रान्ति सफल भएको थियो। किसान, मजदूर र आमजनताको बलियो साथ रहेका उनले नयाँ विधि र विचारको विकास गरे।
लेनिनको मृत्युपछि स्टालिन सत्तामा आए। उनी लेनिनकै विचारमा टेकेर आधुनिक रूस निर्माणमा लागिपरे। उद्योग-कलकारखाना विकास, कृषिमा सामूहिकीकरण, चक्लाबन्दी, आणविक हतियार निर्माण र सीमा विस्तार आदिका कारण स्टालिनकालीन सोभियत रूस शक्तिसम्पन्न राष्ट्र बन्न पुग्यो। उनी कतिपय सन्दर्भमा आवश्यकताभन्दा बढी अधिनायकवादी बनेको आरोप पनि छ।
परन्तु रूसमा चलेको समाजवादी विचारको प्रभाव विश्वका धेरै देशमा फैलिइसकेको थियो। रूसी कम्युनिस्ट पार्टीको भूमिका अन्य देशमा पनि विस्तार भयो, जुन पूँजीवादी राष्ट्रहरूलाई मन परिरहेको थिएन। दोस्रो विश्वयुद्ध लगत्तै देखापरेको शीतयुद्ध यसैको परिणाम थियो।
पार्टीका शक्तिशाली महासचिव स्टालिनको मृत्युसँगै सोभियत रूसमा सङ्कट मडारिन थाल्यो। त्यसपछि नेतृत्वमा आएका निकिता ख्रुस्चेभ शान्तिपूर्ण सह-अस्तित्वको नीति सहित अगाडि बढे पनि आन्तरिक तथा बाह्य शक्ति सन्तुलन मिलाउन नसक्दा छिटै पार्टी र सत्ताबाट बहिर्गमित भए।
रूसी कम्युनिस्ट पार्टीको नेतृत्वमा उदाएका मिखाइल गोर्भाचोवले ‘पेरिसस्त्रीइका’ र ‘गल्यासनोस्त’ नीति लिए, जुन मार्क्स र लेनिनवादी विचारसँग मेल खाँदैनथे।
केही वर्षपछि रूसी कम्युनिस्ट पार्टीको नेतृत्वमा उदाएका मिखाइल गोर्भाचोवले ‘पेरिसस्त्रीइका’ र ‘गल्यासनोस्त’ नीति लिए, जुन मार्क्स र लेनिनवादी विचारसँग मेल खाँदैनथे। यी दुई नीति गलत सावित हुँदा विश्व एकध्रुवीय शक्तिमा केन्द्रित हुन पुग्यो। यसै कारण सोभियत रूस १५ वटा देशमा विभाजन भयो।
अन्ततः बोरिस येल्तसिनले आफ्नै पार्टी बोल्सेभिकलाई प्रतिबन्ध लगाए। प्रतिक्रान्ति भयो। रूसको अधीनमा रहेको पूर्वी जर्मनीको बर्लिनको पर्खाल ढल्यो। शीतयुद्ध पनि घोषित रूपमा अन्त्य भयो।
शीतयुद्ध सकिएसँगै यूरोप र एशियाका रूसी शासनलाई साथ दिने कतिपय कम्युनिस्ट राज्यव्यवस्था पनि ढले। यद्यपि समग्रमा कम्युनिस्ट पार्टीको दर्शन, विचार, राजनीति र संस्कार ढलिसकेको थिएन। त्यति वेला पनि कम्युनिस्ट विचार विश्वभर फैलिइरहेकै थियो। ‘बादलमा चाँदीको घेरा’ देखाउँदै चिनियाँ कम्युनिस्ट पार्टीले विशाल भूगोल र आवादीमा शासन गरिरहेकै थियो। भियतनाम र क्युबामा पनि कम्युनिस्ट शासन थियो। यी सबैको आदर्श सोभियत रूसको लेनिन नेतृत्वको क्रान्ति नै हो।
अमेरिकी शासक भने शुरूदेखि नै बोल्सेभिक क्रान्तिप्रति सकारात्मक छैनन्। उनीहरू जहिल्यै साम्यवादी विचारलाई खण्डित गर्ने योजनामा रहन्छन्। जर्ज सी. मार्सलले बनाएको ‘मार्सल’ नाम दिइएको योजना साम्यवादी विचार एवं शासन व्यवस्था तहसनहस बनाउन घोषित रूपमै अघि बढाइएको थियो। तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल जसरी पनि साम्यवादी विचार रोक्न लागिपरेका थिए। उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रूम्यानको साथ थियो।
कुनै वेला आँधीको रफ्तारमा रहेको विश्व कम्युनिस्ट आन्दोलन सन् १९५९ यता भने मन्द गतिमा छ। चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा गरिरहेको शासन रूसको भन्दा केही फरक देखिन्छ। यद्यपि चीन माओको अथक मेहनतमा विश्वको शक्तिशाली राष्ट्रमा अङ्कित भएको हो। माओकालीनभन्दा तङस्याओ पिङको नीति फरक थियो। अहिले सी चिनफिङ विश्वमा चीनको भूमिका थप विस्तार गर्न र कम्युनिस्ट आन्दोलनलाई थप वैचारिकता दिन प्रयासरत छन्।
अहिले पनि पूँजीवादी शासनशैलीका देशले कम्युनिस्ट विचार विस्तार हुन नदिन सबै औजार प्रयोग गरिरहेकै छन्। वैश्य-युग भनिए पनि वाणिज्य क्षेत्रका सामान उपभोगका सन्दर्भमा चर्को मतभिन्नता छ। मलाक्का इलाकाको बाटोमा शक्तिराष्ट्रको विशेष ध्यान रहन्छ। समुद्री बाटो उपयोगमा ठूलो संघर्ष छ। यी सबैमा सूक्ष्म रूपमा वैचारिक पक्षधरताले नै काम गरिरहेको छ। सूचना सञ्चार तथा सामाजिक सञ्जालको वर्तमान युगमा कम्युटर चिप्सदेखि एप्लिकेशन प्रयोगसम्म राजनीतिक स्वार्थ देखिन्छ।
यस्तो विषम घेराबन्दीमा कम्युनिस्ट आन्दोलन अघि बढाउन निकै चुनौतीपूर्ण छ। पूँजीवादी विचारले बनाएको एकध्रुवीय चक्रमा साम्यवादी क्रान्तिको प्रयत्न गर्नु, सर्वहारा श्रमिकको पक्षमा लाग्नु सराहनीय कार्य हो। श्रमिक वर्गको पक्षमा सशस्त्र संघर्ष गर्नु साम्राज्यवादलाई सीधै चुनौती दिनु हो। यही बाटोबाट सन् १९५९ मा क्युबाली क्रान्ति सफल भएपछि यही स्तरको अर्को क्रान्ति हुन सकेको छैन।
यद्यपि पेरुमा गोन्जालोले प्रयत्न गरे। नेपालमा पनि पुष्पकमल दाहालले १० वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरेर अहिले सम्झौतामा अघि बढिरहेका देखिन्छन्। भेनेजुयलामा ह्युगो चाभेजले पनि सुधारवादी कार्य गरेका थिए। उनले लोकतान्त्रिक परिपाटीबाट पनि जनपक्षीय काम गरे। अमेरिकामा पनि नोम चोम्स्की समाजवादको पक्षमा निरन्तर छन्।
इतिहास हेर्दा क्रान्तिको स्वरूपमै विविधता देखिन्छ। रूसमा विद्रोहबाट, चीनमा दीर्घकालीन जनयुद्ध, क्युबामा गुरिल्ला युद्धबाट र भियतनाममा साम्राज्यवादलाई परास्त गरेर राज्यसत्ता प्राप्त भयो। यी बाहेकका देशमा पनि उल्लेख्य क्रान्ति भएका छन् भने केही क्रान्तिको बाटोमा छन्। जे भए पनि विगतका क्रान्ति र प्रतिक्रान्तिको निर्मम तर निःस्वार्थ समीक्षाले मात्र नयाँ जनवादी क्रान्तिको आधार तयार गरिदिने हो।
वर्तमान विश्व कम्युनिस्ट आन्दोलन पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नवउदारवादसँग जुधिरहेछ।
यसका लागि पुरानो सामन्तवादी उत्पादन सम्बन्धका आयाम र त्यसले बनाएको आर्थिक, सामाजिक तथा वर्गीय संरचनाको द्वन्द्वात्मक अन्वेषण गर्दै नयाँ समतामूलक उत्पादन प्रणाली विकास गरिनुपर्छ। यस्तो समीक्षाले अन्तर्विरोधको पनि जानकारी हुन्छ। क्रान्ति सफल नहुनुमा वेलावेला बदलिइरहने अन्तर्विरोधको अध्ययन नहुनु पनि एउटा कारण हो।
पूँजीवाद अहिले उदारवाद हुँदै नवउदारवादका रूपमा विकास भएको छ। वर्तमान विश्व कम्युनिस्ट आन्दोलन पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नवउदारवादसँग जुधिरहेछ। दलाल पूँजीवादले राज्यको भूमिका कमजोर बनाइरहेको छ। वित्तीय पूँजीले नवऔपनिवेशिकता निम्त्याइरहेछ।
यद्यपि पूँजीवादमा सङ्कट नै नआएको होइन। पटक पटकका आर्थिक मन्दीमा समेत पूँजीवाद सर्पले काँचुली फेरे जसरी आफूलाई ऋतुसुहाउँदो बनाएर तङ्ग्रिंदै आएको छ। जनवादी क्रान्ति निर्धारण गर्न साम्यवादीहरूले पनि युग तथा देशसुहाउँदो कार्यदिशा बनाएर अघि बढ्न जरुरी देखिन्छ। यसको अर्थ मार्क्सवादलाई तोडमोड गर्नुपर्छ भन्ने होइन।