राहुलका कुनै फोन बिग्रिए, कुनै घरमै भेटिएनन्
सुन तस्करी प्रकरणका अभियुक्त राहुल महराले चलाउँदै आएका तीनै वटा मोबाइल नभेटिंदा अनुसन्धान प्रभावित भएको छ। उनले अरूकै नाममा रहेका सिम तीन वटा फरक फरक मोबाइलमा प्रयोग गरेको खुलेको थियो। तर मोबाइल नभेटिएकाले यसमा जोडिएका थप व्यक्तिबारे अनुसन्धान हुन सकेन।
विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल विरुद्ध बुधबार जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। तर समान भूमिकामा देखिएका बुबा महरालाई भने प्रहरीले अभियोग लगाएको छैन।
अभियोजनपत्र अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत पुसमा फ्लाई दुबईबाट आएको भेप शङ्कास्पद देखिएपछि रोकेको थियो। त्यो सामान छुटाउन महरा बाबु-छोरा नै सक्रिय भएका थिए, जुन दुवैले अनुसन्धानका क्रममा समेत स्विकारेका छन्।
उच्च राजनीतिक तहकै चासो देखिएपछि भन्सारले आन्तरिक तवरमा अनुसन्धान गर्दा भेपभित्र सुन रहेको र त्यो चोरिएको पत्तो लागेको थियो। त्यसपछि अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइएको थियो।
सीआईबीको अनुसन्धानले महराद्वयको संलग्नता देखाएको थियो। तर शुरूआतमा अनुसन्धानको दायरामै ल्याएको थिएन। तस्करीमा संलग्न समूहका सदस्यसँग बाक्लो सम्पर्क देखिए पनि उन्मुक्ति दिएको सार्वजनिक भएपछि सीआईबी पूरक अनुसन्धान गर्न बाध्य भएको थियो।
तर राहुलले नियमित चलाउने मोबाइल सेट नै नभेटिएपछि अनुसन्धान गहिराइमा पुग्न सकेन। मोबाइल सेटको डिजिटल फरेन्सिक ल्याब परीक्षणबाट अपराधको थप ‘कनेक्सन’ खुल्ने सीआईबीको अपेक्षा थियो। “राहुलले चलाएका मोबाइल नै भेटिएनन्,” सीआईबी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भन्छिन्।
राहुलले रोल्पाकै मनोज पुन मगरको नाममा रहेको मोबाइल नम्बर बोक्दै आएको अनुसन्धानबाट खुलेको छ। उनले फूपुका छोरा होमबहादुर थापा मार्फत मोबाइल नम्बर लिएका हुन्। थापाले अनुसन्धानका क्रममा गरेको बयान कागज अनुसार भदौ ११ गतेदेखि त्यो नम्बर चलाएका थिए।
त्यसअघि सन् २०२२ को जूनदेखि यो नम्बर थापाले नै चलाउँदै आएका थिए। यो मोबाइल नम्बर आफूले फिर्ता नलिएको समेत उनले बताएका छन्।
आईफोन-१३ प्रो म्याक्स, आइफोन-१४ प्रो म्याक्स र हुवेईको सेट पनि राहुलले प्रयोग गर्ने गरेको खुलेको थियो। तर यी मोबाइल प्रहरीले बरामद गर्न सकेन। आईफोन-१३ प्रोम्याक्स बिग्रिएपछि घरमै फालिदिएको र हुवेईको सेट पनि घरमै फालिदिएको राहुलले बयानमा भनेका छन्। “मेरा आफन्तले आईफोन-१३ प्रो म्याक्स र हुवेई मोबाइलहरू घरमा खोजी गर्दा फेला नपरेको भनी मलाई जानकारी गराएकाले म उक्त मोबाइल उपलब्ध गराउन सक्दिनँ,” राहुलको बयान उद्धृत गर्दै अभियोगपत्रमा भनिएको छ।
आइफोन-१४ प्रो म्याक्स भने साथी गोपाल शर्मासँग मागेर चलाएको बताएका छन्। यो सेट २०८० असारको पहिलो साता फिर्ता दिएको राहुलले थप बयानमा खुलाएका छन्। तर शर्मालाई फिर्ता दिएको भनिएको मोबाइल सेटमा फुपूका छोराको नाममा रहेको सिम प्रयोग गरेर राहुलले नै चलाउने गरेको पाइएको छ। त्यसबारे भने राहुल आफूलाई थाहा नभएको भन्दै पन्छिएका छन्।
अभियोगपत्र अनुसार पूर्व सभामुख महराले भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई फोन गरेर भेपबारे बुझ्न राहुल आउने भन्दै सहयोग गर्न भनेका थिए। राहुलले आफ्नो कार्यकक्षमा भेटेर लिलामी प्रक्रिया चाँडो गरिदिन र आफ्नै समूहलाई पारिदिन दबाब दिएको पोखरेलले बयानमा खुलाएका छन्। “राहुलले भेपको चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए,” पोखरेलले गरेको कागजमा भनिएको छ, “पटक पटक गरी ६-७ पटक सोही विषयलाई लिएर कार्यालयमा दबाब दिन आउने गर्थे।”
राहुलले पनि भन्सारमा रोकिएको भेपबारे बुझ्न आफू विमानस्थल पुगेको स्विकारेका छन्। उनी दावा छिरिङ र निमा गुरुङलाई लिएर भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेको अभियोगपत्रमा उल्लेख छ।
आफूसँग गएका एक जनाले भेपभित्रको सामान हेर्न चाहेको समेत राहुलले नै खुलाएका छन्। तर त्यस्तो चाहना राख्ने व्यक्तिको नाम भने खुलाएका छैनन्। “भन्सार कार्यालयमा गएको नेपाली बोल्न जान्ने तिब्बती जस्तो देखिने व्यक्तिले भेप हेर्न मिल्छ कि मिल्दैन? भित्र त्यही चुरोट छ कि छैन भनी सोधेको थियो,” राहुलले बयानमा भनेका छन्।
तिब्बती जस्तो देखिने व्यक्ति भनेर राहुलले दावा छिरिङलाई इंगित गरेका हुन्। दावा यसअघि साढे ६० केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्तमध्येका हुन्। अहिले उनी पुर्पक्षका लागि कारागारमा छन्। राहुलले दावासँग आफू अपरिचित रहेको देखाउन खोजे पनि कल डिटेल रेकर्डमा भने यी दुई जनाबीच पटक पटक कुराकानी भएको अभियोजनपत्रमा उल्लेख छ।