सरकार पूर्ण रूपमा असफल भइसक्यो: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार असफल भइसकेको जिकिर गरेका छन्।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका अध्यक्ष ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा जनताले सरकार भएको महसूस गर्न नसकेको बताए। “यो सरकार पूर्ण रूपमा असफल भइसक्यो,” पूर्व प्रधानमन्त्री ओलीले भने।
देशको अर्थतन्त्र धराशायी भइरहेको वेला सरकार जिम्मेवार नबनेको उनको आरोप थियो। अध्यक्ष ओलीले भने, “देशको अर्थतन्त्र निकै धराशायी हुनुमा अहिलेको सरकार जिम्मेवार छ। यो सरकार जति दिन रह्यो, त्यति समस्या हुनेछ।”
उनले इजरायलबाट नेपालीको उद्धारमा भइरहेको ढिलाइ पनि सरकारको असफलताको सूचकको भएको जिकिर गरे। इजरायलमा मृत्यु भएको विद्यार्थीको शव तत्काल ल्याउनुपर्नेमा ढिलाइ भएको उनको भनाइ थियो।
त्यस्तै, इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्नुपर्नेमा ओलीले जोड दिए। तर सरकारले सन्तोषजनक रूपमा काम नगरेको उनको आरोप थियो।