नेपाली विद्यार्थीको शव ल्याउन आज राति विमान इजरायल जाने
इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन आज राति ११ बजे नेपाल एअरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ।
नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए। यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमियामा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
यसैगरी, आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका जोशीसँगै बस्दै आएका एक विद्यार्थी मार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ।
अस्पतालमा खोजी गर्दा जोशी फेला नपरेको दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ। उनको खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जनाएको छ।